बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सुरु

  • ६ श्रावण २०७४, शुक्रबार
  • कमल खत्री
  • 3066 पटक पढिएको

म्याग्दी, ६ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान देखाउन सूरु गरिएको छ । नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेनाच घण्टाकर्ण चर्तुदर्शी देखी हरितालीका तिजको दिनसम्म विभिन्न नाचहरु देखाएर मनाउने गरिन्छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्र्तगत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो ।


नेपाल भाषा मंकाः खल र नेवार युवाहरुको समुह ल्यामपुचको आयोजनामा सुरु गरिएको बर्खेनाच अन्र्तगत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र सथयात्रा सहित विविध नाच देखाईने ल्यामपुचका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।  बर्खेनाच अन्र्तगत जनैपूणिमाको दिन र भोलीपल्ट बर्षभरीमा दिवंगत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलन समेत रहेको छ ।

बेनी बजारमा बस्ती बसेदेखी नै नेवार समुदायको सक्रियतामा बर्खेनाच देखाउँदै आएको पाईन्छ । ऐतिहाँसिक महत्व बोकेको बर्खे नाचमा पछिल्लो समय बेनीका युवाहरुले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् ।केही समय अगाडी बर्खेनाचको लागी युवा कलाकारहरुलाई तालीम समेत दिईएको थियो । शुक्रवार घण्टाकर्ण पर्वको असबरमा बेनी स्थित संगम चोकमा समाजमा दुख दिने पात्रको रुपमा चित्रित घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा पश्चात म्याग्दी र कालिगण्डकी नदिको दोबानमा लगेर बिसर्जन गरिएको थियो ।
यसै घण्टाकर्ण पर्वको दिनदेखि सुरु हुने बर्खे नाचमा परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्र प्रर्दशनलाई बर्खेनाचमा देखाउने गरिन्छ । बर्खेनाच अन्र्तगत तिजको दिनमा दानविय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

तस्बिरः सुविन श्रेष्ठ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l