बागलुङ कालिका मन्दिरको भेटी एक करोड

  • ६ श्रावण २०७४, शुक्रबार
  • 2145 पटक पढिएको

बागलुङ, ६ साउन । बागलुङको कालिका भगवती मन्दिरको आम्दानी एक वर्षमा १ करोड १५ लाख ३९ हजार ८ सय रुपैयाँ भएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार उक्त रकम आर्थिक वर्ष २०७२र७३ को भन्दा २५ लाख ३४ हजारले बढी हो । समिति अध्यक्ष राजु खड्काका अनुसार उक्त आर्थिक वर्षमा ९० लाख ५ हजार ७ सय रुपैयाँ भेटी संकलन भएको थियो । एक वर्षको अवधिमा लाखौं दर्शनार्थी आएको उनले बताए । मुस्ताङ यात्रामा आउजाउ गर्नेका लागि बीचको एउटा सुगम गन्तव्य, पश्चिमका जिल्लामा चर्चित देवालय र सहज यातायातले कालिका मन्दिरमा आउने श्रद्धालुको संख्या वृद्धिसँगै आम्दानी पनि बढेको हो ।

मन्दिरको व्यवस्थापनका लागि समितिअन्तर्गत १४ कर्मचारी छन् । आर्थिक वर्ष २०७३र७४ मा संकलितमध्ये ५९ लाख ८८ हजार ६ सय भेटीको रकम हो । बलि दिएको १ हजार ८ सय ५४ बोकाको टाउको बिक्रीबाट १२ लाख ९९ हजार ६ सय, कुखुराको टाउको बिक्रीबाट १ लाख १४ हजार ५ सय र परेवा बिक्रीसँगै भक्तजनबाट सहयोग रकमसमेत गरी ५५ लाख ५१ हजार २ सय गरी १ करोड १५ लाख ३९ हजार ८ सय आम्दानी भएको हो ।

‘तीर्थालुको चापसँगै मन्दिर सरसफाइ र व्यवस्थापन पनि दुरुप्त राख्नुपर्ने जिम्मेवारी बढेको छ,’ अध्यक्ष खड्काले भन्नुभयो , ‘मन्दिर परिसरलाई अझ आकर्षक बनाउन हामी खटिएका छौं ।’ मन्दिरमा प्राप्त हुने सहयोग र भेटीको हिसाब पारदर्शी गराउन समितिले दैनिक प्रहरी, प्रशासन र मालपोतको रोहबरमा भेटी रकम गणना गरी बैंकमा दाखिला गर्ने गरेको छ । गत आर्थिक वर्षमा २६ लाख ७६ हजार ९ सय रुपैयाँ खर्च भएको समितिले जनाएको छ ।

कर्मचारीको तलबमा १८ लाख ६८ हजार ७ सय र खाद्यान्नतर्फ ३ लाख ६ हजार ८ सय खर्च भएको छ । २ वर्षअघिदेखि मन्दिरमा संकलन भएको भेटी र बलि दिइने जनावरको टाउकाको बिक्रीको जिम्मा मन्दिर व्यवस्थापन समितिले लिएको हो । त्यसअघि ठेकेदारमार्फत ठेक्का लगाउने प्रचलन थियो । यो वर्ष दर्शनार्थी धेरै आएको पुजारी माधव सुवेदीले बताए । उक्त मन्दिरमा पूजा गर्न पोखरा, पर्वत, म्याग्दी, तनहुँ, लमजुङलगायत विभिन्न भागबाट श्रद्धालु आइपुग्छन् । साताका मंगलबार र शनिबार दर्शनार्थीको भीड लाग्ने गर्छ । इकान्तिपुर डटकमबाट साभार