म्याग्दी र मुस्ताङलाई जोड्ने धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण (फोटो फिचर)

  • ५ श्रावण २०७४, बिहीबार
  • कमल खत्री
  • 4670 पटक पढिएको

म्याग्दी, ५ साउन । म्याग्दी र मुस्ताङलाई जोड्ने बैकल्पिक रुटको रुपमा पहिचान गरिएको धौलागिरी आईसफल पदमार्गमा पूर्वाधार निर्माण गरिएको छ । ६ बर्ष अगाडि टान पोखराको नेतृत्वमा जिल्लाका सरोकारवालाहरुको पहलमा स्थलगत अवलोकनबाट पहिचान गरिएको यस पदमार्गमा पाँच बर्षदेखि नियमित रुपमा पूर्वाधार निर्माणको काम भईरहेको छ । 

मनोरम हिमसृङखलाको दृष्यावलोकन गर्न सकिने यो पदमार्गमा आर्थिक बर्ष २०७३/०७४ मा पर्यटन कार्यालय पोखरा मार्फत विनियोजन भएको रु १० लाख बजेटबाट पदमार्ग अन्र्तगत चिमखोलाको ससलधारा क्षेत्रमा करिब एक किलोमिटर पदमार्ग निर्माण गरिएको हो ।

 


झण्डै दुई महिना धौलागिरी हिमालको फेदीतिर अस्थायी रुपमा बसोबास गरि २८ जनाले पदमार्ग निर्माण गरिएको हो धौलागिरी आईसफल पदमार्ग निर्माण समितिका अध्यक्ष धु्रबकुमार पाईजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, रघुगंगा नदीको किनारमा ससलधारा कोखेभिरदेखि कालिबराह खोलासम्म पदमार्ग निर्माण गरिएको छ ।अक्करे भिरमा डोरीको सहायताले भिर फोरेर पदमार्ग निर्माण गरीएको छ । ‘‘ भिरमा जोखिम मोलेर पदमार्ग निर्माण ग¥र्यौ, अझैपनि केही भिरहरुमा पदमार्ग खन्नुपर्नेछ, त्यसको लागि सरकारी तवरबाट सुरक्षित हुने सामाग्री उपलब्ध भएमा सहज हुने थियो ,’’–अध्यक्ष पाईजाले भन्नुभयो ।

अधिकाँश ठाउँमा ढुगाको सिढी चिनेर पदमार्ग बनाईएको छ । पाँच बर्षको अबधिमा भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी, सुगुरथला हुँदै ससलधारा क्षेत्रसम्म पदमार्गको ट्याक निर्माण भएको छ ।

ट्याक निर्माण भएको पदमार्गमध्ये रुइसेदेखि दहबुकीसम्मको पदमार्गलाई अझै स्तरोन्नती गर्नुपर्ने छ भने दहबुकीदेखि कालिबराह खोलासम्म सिढी चिनेर पदमार्ग बनाईएको छ । कुईनेमंगले र चिमखोला साईटमा पर्ने धौलागिरी हिमालको आधार शिविरमा पुग्नको लागि अब झण्डै तिन किलोमिटर पदमार्ग निर्माण गर्नुपर्ने छ ।

त्यसमा झण्डै ५० मिटर जति भूभाग कडा चट्टानको भिरलाई काटेर बनाउनुपर्ने अध्यक्ष पाईजाले जानकारी दिनुभयो । त्यस्तै कालिबराहको दोभानबाट कालिबराहताल हुँदै मुस्ताङको लेते निस्कने परम्परागत गोरटोबाटोलाई स्तरोन्नती गर्नुपर्ने छ । यसैबिच पदमार्ग लगायतका पूर्वाधार निर्माणले पूर्णता नपाउँदा र आबश्यक प्रचार प्रसारको अभाबमा अहिलेसम्म सञ्चालनमा ल्याउन कठिनाई भईरहेको छ ।

पदमार्ग निर्माण योजना अगाढि बढेपनि नक्साङकन र थप पर्यटन पूर्वाधार निर्माण नहुँदा पदमार्ग सञ्चालनमा ढिलाई भएको धौलागिरी आईसफल पदमार्ग निर्माण तथा व्यवस्थापन समितिका सल्लाहकार देवेन्द्र केसीले बताउनुभयो ।

कुमारी पदमार्गको रुपमा रहेको यस क्षेत्रमा प्रारम्भिक चरणको पदमार्ग निर्माण गर्ने काम अन्तिम चरणमा पुगेकाले नक्साङ्कन गरी सुचनामुलक संकेतबोर्ड राख्ने र खानेपानी, भ्यु टावर, लज लगायतका पूर्वाधार निर्माणतर्फ ध्यान दिनुपर्ने सल्लाहकार केसीले बताउनुभयो ।

सदरमुकाम बेनी देखि तिन किलोमिटर अगाडि गलेश्वर हुँदै सुरु हुने यस पदमार्गले म्याग्दीको साविकका विभिन्न ९ गाविसको उच्च पहाडि र हिमाली क्षेत्रलाई समेटेर मुस्ताङको लेते जोडिन्छ ।

‘‘ हरेक बर्ष पदमार्ग निर्माणको गरिरहेका छाँै, अझै विभिन्न ठाउँमा सेल्टर, क्याम्पिङ साईट, खानेपानी ,सामुदायिक लज लगायतका पूर्वाधारहरु निर्माण गर्नुपर्ने देखिएको छ, अध्यक्ष पाईजाले भन्नुभयो । ’’ पहिलो चरणमा पदमार्ग निर्माण सकिएपछि क्याम्पिङ गर्ने पर्यटकहरु यस पदमार्ग हुँदै भम्रणमा आउन सक्नेछन् ।

बेनी–जोमसोम सडक सञ्जाल विस्तारसंगै बिस्थापित बनेको बेनी–जोमसोमको बैकल्पिक रुटको रुपमा पहिचान गरिएको यो पदमार्गले म्याग्दीको पिप्ले, भगवती ,बेगखोला, दग्नाम, दोबा, भुरुङ तातोपानी, दाना, चिमखोला र कुइनेमंगलेको माथिल्लो भूभाग समेटिएको छ । करिब सात दिनमा पुरा गर्न सकिने पदयात्रा अन्र्तगत भम्रणमा आउने पर्यटकहरु रुइसे, भेडिओडार, पछेत्राधुरि, खोलाखर्क, सोबाङधुरि, ल्होस र दहबुकीमा क्याम्पीङ गर्नेछन् ।

यस पदमार्ग अन्र्तगत रहेको कालिबराह तालमा पुजा गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । पदमार्ग निर्माण समितिले यस ताल नजीकै एउटा मन्दिर र भक्तजन बस्ने टहरा निर्माण गर्ने योजना बनाएको छ । नजीकबाट मनोरम हिमसृङ्खला र हिमपहिरोको अबलोकन, अग्ला झरना, लालिगुराँस लगायतका जंगली फुल, यार्सागुम्बा लगायतका जडिबुटी, जंगली जनावर, चराचुरुङ्गीको अबलोकन गर्न पाउनु यस पदमार्गको मुख्य आकर्षण हो ।

 

 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l