छेपारेका बासिन्दालाई सिपमुलक तालीम

  • ५ श्रावण २०७४, बिहीबार
  • सन्तोष गौतम
  • 2182 पटक पढिएको

बेनी ५ साउन । बेनी नगरपालीका ३ छेपारेका बासिन्दालाई सिपमुलक तालीम प्रदान गरिएको छ । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा कदम म्याग्दीद्धारा सञ्चालित गरिवी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेड्पा) मार्फत २२ जनालाई तालीम प्रदान गरिएको हो । छेपारेमा गठित नमुना लघुउद्यमी समूहका १२ जनालाइ ढाका बुनाई, ८ जनालाई सिस्नो पाउडर निर्माण र २ जनालाई मुढा बुनाई सम्बन्धि सिपमुलक तालीम दिइएको हो ।


तिन महिनासम्म सञ्चालन भएको ढाका बुनाई तालीमको बिहीबार समापन गर्दै बेनी नगरपालीकाका उपप्रमुख सञ्जु बरुवालले सामाजिक परिवर्तनका लागि महिलाको आर्थिक स्रोतमा पहुँच बढाउनुपर्ने र त्यसका लागि लघुउद्यम उपयुक्त माध्यम बन्ने बताउनुभयो ।
वडा अध्यक्ष पदम पुनले भकिम्लीका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन लघुउद्यम, कृषी, पशुपालनमा जोड दिइएको बताउँदै सिकेको सिपलाई दैनीक जिवनमा प्रयोग गरी ब्यवसायीक बन्न अनुरोध गर्नुभयो ।

तालीममा सहभागि उद्यमी भविकला घर्ती, धनमाया सुनारले थप औजार, कच्चा पदार्थ जुटाएर ढाका र सिस्नो पाउडर उत्पादनलाई ब्यवसायीक रुपमा अघि बढाउने बताउनुभयो । तालीमका क्रममा कच्चा पदार्थ र ढाका बन्ने मेसीन पर्याप्त नहुँदा समस्या भएको सहभागीको भनाई थियो ।

सो तालीम सञ्चालनमा एक लाख ३२ हजार रुपैया खर्च भएको कार्यक्रममा जानकारी गराइएको थियो । तालीममा सहभागीले ढाकाको सल, गलबन्दी, साडी तयार पारेका छन् ।
नमुना लघुउद्यमी समूहकी अध्यक्ष लालकुमारी घर्तीको अध्यक्षता र उद्यम विकास सहजकर्ता सरीता नेपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानीय ईन्द्र थापा, प्रशिक्षक दिलमाया पुन र कृष्णमाया घर्तीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम