पोखरा अस्पतालमा श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी शान्ति काठमाण्डौमा वेपत्ता

  • ४ श्रावण २०७४, बुधबार
  • 11241 पटक पढिएको

म्याग्दी, ४ साउन । विरामी भएर पोखरामा उपचार गराईरहेका श्रीमानलाई भेट्न हिँडेकी धाईरिङकी एक युवती काठमाण्डौ पुगेर वेपत्ता भएकी छिन् । पर्वतको जलजला गाउँपालिका–७ धाईरिङ सल्यानकी करिब २३ बर्षिय शान्ति दर्जी एक साता अघिदेखि काठमाण्डौबाट सम्पर्क विहिन भएकी हुन् । पोखरामा उपचाररत श्रीमान सन्ते दर्जीलाई भेट्न भनी बसमा सवार भएकी शान्ति ठाउँ पत्ता लगाउन नसकेको कारण काठमाण्डौमा पुगेकी थिईन् ।

कहिल्यै पोखरा नगएको र सोधखोज नगरेको कारण उनी पोखरा भन्दै काठमाण्डौमा पुगेकी थिईन् ।

उनी नजीक रहेका व्यक्तिसंग फोनमा कुराकानी गर्दा उनी काठमाण्डौ पुगेको पत्ता लागेपनि एक सातादेखि मोवाईल फोन समेत बन्द भएको र उनी समेत घरमा नआएपछि समस्यामा परेको उनका श्रीमान सन्ते दर्जीले बताए ।

अल्पत्र परेपछि उनलाई काठमाण्डौमा केही व्यक्तिहरुले प्रहरीको जिम्मा लगाएपनि आफु एक्लै घर फर्कन सक्ने भन्दै उनी प्रहरी कार्यालयबाट निस्किएको प्रहरीले जनाएको छ ।

राम्रोसंग घरपरिवारको फोन नम्बर भन्न नसक्ने र अरु व्यक्तिहरुसंग बोल्न समेत डराउने र उनले मोवाईलको चार्जर समेत नलगेको कारण मोवाईल बन्द भएपछि उनी कहाँ छिन भन्ने कुरा पक्ता लगाउन कठिन भएको छ ।

उनका श्रीमान सन्तेले मिलनचोक प्रहरी मार्फत आफ्नो श्रीमतीलाई खोजी गर्न आग्रह गरेको बताए । उनले आफ्नो श्रीमती चलाख नभएको र धेरै बोल्न नसक्ने र बजारमा ठाउँ पहिचान गर्न नसक्ने भएकाले देख्ने जो कसैलाई पनि प्रहरी मार्फत आफ्नो घरमा फकाईदिन अनुरोध गरेका छन् । आर्थिक रुपमा विपन्न रहेका दर्जी दम्पतीले बेनीमा पत्रपत्रिका बाँड्ने, भारी बोक्ने काम गरि जिविकोपार्जन गर्दै आएका छन् ।