देउवाले कार्यकर्तालाई भने- ‘चुनाव हुन्छ-हुन्छ-हुन्छ, यसमा शंकै नगर्नुस्’

  • २६ माघ २०७३, बुधबार
  • 2213 पटक पढिएको

du

काठमाडौं, २६ माघ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव हुनेमा कुनै शंका नरहेको भन्दै कार्यकर्तालाई गाउँ जान निर्देशन दिएका छन्। कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृतिदिवस कार्यक्रममा देउवाले कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन्।

‘चुनाव हुन्छ-हुन्छ-हुन्छ- यसमा कुनै शंकै छैन,’ देउवाले भने, ‘पहिला संविधानसभाको चुनाव पनि हुँदैन हुँदैन भन्दै भयो। अहिले पनि चुनाव हुन्छ तपाईंहरु गाउँ जानुहोस्।’ उनले चुनावको तयारी भित्रभित्र गर्नेहरुले चुनाव हुँदैनन् भनेर अरुलाई अलमल्याउन प्रयत्न गरिरहेको बताए।

कांग्रेसले माओवादीलाई सरकारमा जान समर्थन गरेको नै चुनावको लागि भन्दै देउवाले चुनावको विकल्प नै नभएको बताए। ‘हामीले माओवादीलाई समर्थन गरेर सरकार बनाएको पनि चुनाव गराउनका लागि नै हो,’ उनले भने, ‘लोकतन्त्रलाई बचाउन पनि निर्वाचनमा जानुपर्छ।’ उनले सुरुमा स्थानीय निकाय चुनावमा जाने प्रस्ताव गरे पनि माओवादीले नमानेका कारण चुनाव नभएको बताए।

‘हामीले स्थानीय निकायकै चुनाव गरौं भनेका थियौं तर माओवादीले नमानेपछि स्थानीय तहको कानुन पारित गरिएको हो,’ उनले भने, ‘त्यसैले अब स्थानीय तहकै चुनाव हुन्छ। गाउँ गएर तयारी गर्नुहोस्।’

सुशील कोइरालालाई सुरुमा भेट्दाको स्मरण पनि गरे देउवाले। एकदमै ढोँगीजस्तो लागे पनि संगत गर्दै जाँदा पछि मात्र कोइराला वास्तवमै सादगी भएको प्रमाणित भएको देउवाले सुनाए।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावको कुनै विकल्प नहुने र चुनाव स्थानीय तहकै हुने विचार राखे। ‘अरुले चुनावको विकल्प पनि खोज्न सक्छन् तर कांग्रेसले त्यस्ता विकल्पको पछि लाग्न हुँदैन,’ पौडेलले भने, ‘त्यसैले अब स्थानीय तहको चुनावका लागि तयार भएर बस्नुपर्छ।’ स्थानीय तह निर्धारण गर्दा आयोगले केही कमीकमजोरी गरेको भन्दै ती कमजोरी हटाएर चुनावमा जान उनले सुझाए।

कोइरालाको प्रथम वार्षिकी तथा स्मृतिदिवसका अवसरमा कांग्रेस केन्द्रीय कार्यालयकै आयोजनामा पार्टी मुख्यालय सानेपामा कार्यक्रम भएको थियो।