बालमन्दिरमा बयालीस लाखको लगानीमा पूर्वाधार निर्माण

  • २६ माघ २०७३, बुधबार
  • सन्तोष गौतम
  • 1559 पटक पढिएको

dm

बेनी, २६ माघ । बेनी नगरपालीका ७ कालीपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयमा बयालीस लाख रुपैया भन्दा बढीको लगानीमा पूर्वाधार निर्माण भएको छ । सरकारी निकायको सहयोगको तुलनामा तिन गुणा बढी रकम स्थानीय स्रोतबाट जुटाएर पक्कि कक्षाकोठा भवन, खानेपानी सुबिधा सहितको छात्रा मैत्री शौचालय निर्माण भएको हो । २८ लाख ३६ हजार २४२ रुपैयाको लगानीमा तिन कोठे कक्षा कोठा र १३ लाख ७५ हजार रुपैयामा शौचालय निर्माण भएको हो ।

जिल्ला शिक्षा कार्यालयले कक्षाकोठा निर्माण गर्न सात लाख पचास हजार र शौचालय बनाउन चार लाख रुपैया अनुदान सहयोग गरेको थियो । बाँकी तिस लाख ६१ हजार रुपैया विद्यालयले विभिन्न स्रोतबाट जुटाएर भवन र शौचालय निर्माण गरेको प्रधानअध्यापक सुरेन्द्रप्रसाद खत्रीले बताउनुभयो ।

छात्रा र बालमैत्री शौचालयसंगै खानेपानीको समेत व्यवस्था मिलाइएको छ । कक्षाकोठा भवन भुकम्प प्रतिरोधी क्षमत्ताको हो । नवनिर्मीत कक्षाकोठा भवनको बुधबार अभिभावक भेलाको अवसरमा जिशिअ रामकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो ।

चालु शैक्षिकसत्रदेखि कक्षा ६ को पठनपाठन सुरु गरेको विद्यालयमा कक्षा थप गर्ने उद्देश्यले पूर्वाधार विस्तार गरिएको हो । विद्यालयमा हाल १३४ जना विद्यार्थी रहेका छन् । बेनीका अन्य विद्यालयमा बढेको विद्यार्थीको चापलाई व्यवस्थापन गर्नका लागि बालमन्दिरमा मावि तहको पठनपाठन सञ्चालन गर्ने योजना बनाइएको छ ।

कक्षा विस्तारका लागि फर्नीचर र कम्प्युटर ल्याब स्थापनाका लागि पहल भैरहेको प्रअ खत्रीले बताउनुभयो । अभिभावक भेला तथा भवन उद्घाटन कार्यक्रममा जिशिअ श्रेष्ठले शिक्षाको गुणस्तर सुधारका लागि अभिभावकले घरमा उपयुक्त वातावरण बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा माझफाँट ३ पर्वत बेनीका डम्मरबहादुर विश्वकर्माले ३० जना विद्यार्थीहरुलाई एकएक दर्जन कापी र कलम वितरण गर्नुभएको थियो । अधिकांश विपन्न समुदायका बालबालीकाले अध्ययन गर्ने सो विद्यालयमा विश्वकर्माले छछ महिनामा शैक्षिक सामाग्री सहयोग गर्दै आउनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता, सदस्य एकेन्द्रबहादुर रावलको स्वागत र प्रअ केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्रोत व्यक्ति मोहन बानिया, नेपाल बाल संगठन म्याग्दीका सभापति नेत्रबहादुर महत, शिक्षक गंगाबहादुर खत्री र अभिभावक विश्व परियारले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

सन्तोष गौतम