घाँटी रेटेर श्रीमतीको हत्या, टाउकोसहित प्रहरीमा आत्मसमर्पण

  • २७ असार २०७४, मंगलवार
  • 3118 पटक पढिएको

२७ असार, नेपालगञ्ज । झारफुक गर्न जाम् भनेर ६–७ महिनाको दूधे बालक बोकेर एक दम्पती मध्यरातमा घरबाट निस्किन्छ । साइकल चढेर केही पर पुगेपछि श्रीमानले श्रीमतीको घाँटी रेटेर हत्या गर्छ । गिँडलाई छुट्याएर टाउकोलाई साइकलमा राखेर प्रहरी कार्यालयमा आफूले हत्या गरेको प्रमाणसहित श्रीमान उपस्थित हुन्छ । प्रहरी घटनास्थलमा पुग्दा आमाको शरिर नजिकै दूधे बच्चा हिलोमा छटपटाउँदै रोइरहेको अवस्थामा भेटिन्छे ।

सुन्दा कुनै दन्त्य कथा जस्तो लाग्ने यो सत्य घटना बाँके कोहलपुरको मुस्लिम परिवारको हो । कोहलपुर ४ बेलनपुरका अहमद अफताल बेरुवाले २६ वर्षीया श्रीमती फुलटन बेरुवाको हत्या यसैगरी गरेका छन् । हत्यापछि अभियुक्तहरु फरार हुने गरे पनि अहमद अफताब भने आफै इलाका प्रहरी कार्यालय कोहलपुरमा श्रीमतीको टाउकोसहित पुगेका थिए । हत्यापछि श्रीमतीको टाउकोसहित उनी इलाका प्रहरी कार्यालय कोहलपुरमा सोमबार मध्यराति आत्मसमर्पण गर्न आएको प्रहरी नायव उपरीक्षक सुरेश कुमार काफ्लेले जानकारी दिए ।

त्यसपछि प्रहरी अहमदलाई समेत लिएर घटनास्थल प्रस्थान गरेको थियो । कोहलपुर १५ स्थित घटनास्थल पुग्दा फुलटन देबीको शव रगतको आहालमा थियो भने त्यसको नजिकै ६–७ महिनाकी उनकी छोरी हिलोमा छटपटाइरहेको अवस्थामा फेला परेकी थिइन् ।प्रहरीलाई अभियुक्त अहमदले दिएको बयान अनुसार उनका दुई जना श्रीमती थिए । फुलटन उनकी जेठी श्रीमती हुन् । धेरै कचकच गरेकाले झारफुक गर्न जाम् भनेर जेठी श्रीमतीको हत्या गरेको उनले बताएका छन् । प्रहरीले अहमद अफताब र उनकी कान्छी श्रीमतीलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जनाएको छ । Source:www.onlinekhabar.com