म्याग्दीका स्थानीय तह कानुन र बजेट निर्माणको तयारीमा

  • १८ असार २०७४, आईतवार
  • 1493 पटक पढिएको

बेनी १८ असार । म्याग्दीका स्थानीय तहको कानुन र बजेट निर्माणको तयारी भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरु कानुनसंगै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेका हुन् । यसैक्रममा आईतबार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहको कानुन र बजेट निर्माणको विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

बजेट, कार्यक्रम, निती, योजनाको माग संकलन, प्राथमिकीकरण र नमुना कानुनको विषयमा छलफल भएको स्थानीय विकास अधिकारी प्र्रेमराज गिरीले बताउनुभयो ।कार्यक्रममा बेनी नगरपालीका प्रमुख, उपप्रमुख, ५ गाउँपालीकाका उपाध्यक्ष, कार्यकारी अधिकृत र लेखा शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्थानीय विकास मन्त्रालयका उपसचिव लिला अधिकारी, पुरुषोत्तम सुवेदी, शाखा अधिकृत रमीला भण्डारी र प्रशिक्षक तिर्थ तण्डुकारले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

सरकारले बजेट भाषण मार्फत म्याग्दीका ६ वटा स्थानीय तहलाई आर्थिक वर्ष २०७४७५ का लागि एक अर्ब ५५ करोड रुपैया बजेट बिनियोजन गरेको छ । स्थानीय तहको बजेट निर्माणका प्राथमिकता र मापदण्डको विषयमा जनप्रतीनिधी तथा कर्मचारीहरु परामर्शमा जुटेका छन् ।

यसअघि योजना निर्माणका क्रममा १४ वटा चरण पार गर्नुपर्नेमा अब ७ वटा चरण पार गर्ने व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइएको थियो । स्थानीय विकास अधिकारी गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धौलागिरी गाउँपालीकाका उपाध्यक्ष रेशम छन्त्याल र मालीका गाउँपालीकाका कार्यकारी अधिकृत छवीलाल सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।