म्याग्दीका सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय विस्तार

  • १८ असार २०७४, आईतवार
  • सन्तोष गौतम
  • 2401 पटक पढिएको

बेनी १८ असार । म्याग्दीका ११ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय जडान भएको छ ।गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाल ईलाईब्रेरी फाउण्डेशन संगको सहकार्यमा म्याग्दी प्रवासी नेपाली संघ (मोना)को संयोजनमा विद्युतीय पुस्तकालय जडान भएको हो । यसअघि ११ वटा सामुदायीक विद्यालयमा विद्युतीय पुस्तकालय सञ्चालन भएको थियो ।

दोस्रो चरणमा जनकल्याण मावी, ओखरबोट मावि, देउराली आधारभुत विद्यालय, रामचन्द्र मावी, जामुनाखर्क मावी, दिपक मावी, भारती प्राबि, मंगला मावी, अर्जुन माबि, किसानी मावि र मुक्तिधाम माविमा विद्युतीय पुस्तकालय जडान भएको मोनाले जनाएको छ ।
विद्यार्थीको पढाईप्रती सूची, सिकाई उपलब्धि बृद्धी गर्न र पठन क्रियाकलापलाई आधुनिक बनाउन जिल्लाकै सबै सामुदायीक विद्यालय र क्याम्पसमा विद्युतीय पुस्तकालय जडान गर्ने अभियान चलाइएको मोनाका विद्युतीय पुस्तकालय कार्यदलका प्रमुख चक्र थापाले बताउनुभयो ।

सफ्टवयर निशूल्क उपलब्ध गराउनुका साथै जडानका लागि आवश्यक कम्प्युटर र प्राबिधिक खर्च वापतको ७५ हजार रुपैया भने स्वदेश तथा बिदेशमा रहेका शिक्षा सेवीहरुबाट जुटाउने गरिएको छ । विद्युतीय पुस्तकालयमा ईन्टरनेटको प्रयोगबिनै कम्प्युटरमा पाठ्यपुस्तक पढ्न, दृष्य हेर्न र श्रब्य सामाग्री सुन्न सकिन्छ ।

विद्युतीय पुस्तकालयमा ईन्टरनेट नभएको अवस्थामा पनि पाठकले आफूले चाहेको पुस्तक अध्ययनका साथै शिक्षा, स्वास्थ्य, कृषि, वातावरण लगायत विषयसंग सम्बन्धित सन्देशमुलक श्रब्य, दृष्य सामाग्री हेर्न र सुन्ने सुबिधा छ । पुस्तकालयमा कक्षा २ देखि ७ सम्मको पाठ्यक्रम र आठ हजार विभिन्न बिधाका पुस्तक रहेको सफट्वेयर राखिएको छ ।

सन्तोष गौतम