अपाङग संघको सामाजिक परिक्षण

  • १८ असार २०७४, आईतवार
  • सन्तोष गौतम
  • 2119 पटक पढिएको

बेनी १८ असार । अपाङ्ग संघ म्याग्दीले आर्थिक वर्ष २०७३७४ मा सञ्चालन गरेका कार्यक्रमको आईतबार बेनीमा सामाजिक परिक्षण गरिएको छ ।

आईएनएफ नेपालको सहयोगमा आयोजित कार्यक्रममा संस्थाद्धारा चालु आर्थिक वर्षमा सञ्चालीत कार्यक्रम, बजेट, उपलब्धि र प्रभावकारीताको बारेमा सरोकारवालाहरुलाई जानकारी गराइएको थियो ।संघले अपाङ्गता भएका ब्यक्तिहरुको जिवनयापनलाई सहज बनाउने, आयआर्जन, शिक्षा, स्वास्थ्य, पैरवी र सचेतीकरण लगायतका कार्यक्रमका लागि विभिन्न निकाय तथा दाताको सहयोगमा ८० लाख ८९ हजार ३५२ रुपैया खर्च गरेको जनाएको छ ।

यसैगरी पलान नेपालको सहयोगमा संघ मार्फत बेनी नगरपालीका ५ बगुवाखोलाका बालजागृती आधारभुत विद्यालयको वौद्धिक अपाङ्गता स्रोत कक्षाका लागि श्रमदान सहित ५७ लाख रुपैयाको भवन निर्माण हुन लागेको जनाइएको छ ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सार्वजनीक निकायले गर्ने काम कारबाहीलाई पारदर्शी, प्रभावकारी, दिगो बनाउन सामाजीक परिक्षणको महत्व रहने बताउदै यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिनुभयो ।

पत्रकार सन्तोष गौतमले सामाजिक परिक्षणको मूल्याङ्कन प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सरोकारवाला कार्यालयका प्रमुख र लक्षित समुदायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोपाल केसीको अध्यक्षता, उपाध्यक्ष गणेश सुवेदीको स्वागत र सचिव सुरेन्द्र केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सन्तोष गौतम