मोड्लिङमा भविष्य खोज्दै रविना

  • १७ असार २०७४, शनिबार
  • 11277 पटक पढिएको

सन्दीप खत्री

म्याग्दी जिल्ला कला र संगीत क्षेत्रको लागि उर्वर भूमि हो । यही भूमिबाट थुप्रै कलाकारको जन्म भईसकेको छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत राम्रो ख्याति कमाई सकेका छन् । पछिल्लो समयमा अभिनयको क्षेत्रमा समेत म्याग्दीका धेरै कलाकारहरु अगाडि बढेका छन् । यही उर्वर भूमिमा अभिनयको क्षेत्रमा जन्मीएको एउटा नाम हो, रविना भण्डारी । रघुगंगा गाउँपालिका वडा नं. ३ मा जन्मेकी भण्डारीले “बैसेरीमा घर थियो मेरो” बोलको लोकदोहोरी गीतबाट अभिनयको यात्रा थालनी गरेकी हुन् । तर छोटो समयमा उनले निकै चर्चा कमाउन  सफल भएकी छिन् । बेनी सामुदायिक माध्यमिक विद्यालयबाट कक्षा १२ को परिक्षा दिएर वसेकी उनी अहिले अभियनको यात्रालाई थप अगाडि बढाउनका लागि काठमाण्डौमा संघर्ष गर्दै छिन् । मोडेलिङको क्षेत्रमा प्रवेश गर्ने उनको सानै देखिको सपना हो ।

भन्छिन्–“अभिनय मेरा लागि सब थोक हो । उमेर १८ टेक्दै गरेकी उनको अभिनयमा परिपक्वता देखिन्छ । त्यसैले पनि होला उनले छोटो समयमा झन्डै एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । लोकदोहोरी, आधुनिक गीत, तिज गीतमा उनले उत्कृष्ट अभियन गरेकी छन् । उनी भन्छिन्–“दर्शकको राम्रो प्रतिक्रिया पाएकी छु । सबैले मेरो अभिनयलाई मन पराउनु भएको छ । आगामी दिनमा पनि अभियनलाई अझै निखारेर अगाडि बढ्ने योजना सुनाउँछिन रविना । “तिर्खा कलल”, “पञ्चेवाजा”, “हाई भन जवानी फर्कीन्छ” लगायतका गीतमा उत्कृष्ट अभिनय गरेकी भण्डारीको हालै “अमेरिकाले आप्रवासी फिर्ता गर्ने भन्छ” बोलको गित समेत सार्वजनिक भएको छ ।

आफु भन्दा अग्रजहरुको प्रेरणाले मोडलिङ क्षेत्रमा लाग्न थप हौसल मिलेको छ । परिवारबाट पनि उनलाई सहयोग नभएको भने होईन तर पनि चाहे जस्तो प्रेरणा भने पाएकी छैनन् । उनी भन्छिन्–“परिवारले एक दिन मप्रति गर्व गर्नेगरि काम गर्नेछु ।” अभिनयको क्षेत्रबाट जिल्लाको नाम चिनाउने सपना बोकेर राजधानी छिरेकी भण्डारी मोडलिङको क्षेत्रमा राम्रो सम्भावना बोकेकी कलाकार हुन् । सानै उमेरदेखि विद्यालय, गाउँमा हुने विभिन्न साँस्कृतिक कार्यक्रममा आफ्नो प्रतिभा देखाउँदै आएकी थिईन् । थुप्रै प्रतियोगितामा सहभागीता जनाएर प्राप्त गरेका पुरस्कारहरु उनका थप प्रेरणाका स्रोत हुन् । विद्यालय देखि जिल्ला स्तरिय विभिन्न प्रतियोगितामा उनले सहभागीता जनाएर प्रथम स्थान हासिल समेत गरेकी थिईन् । उनी भन्छिन्–“मैले विभिन्न मेला, महोत्सव, विद्यालय स्तरिय प्रतियोगिताहरुमा सहभागीता जनाएर पुरस्कार प्राप्त गरेपछि मोडलिङको क्षेत्रमा लाग्न थप हौसला मिल्यो । मैले पनि सँगितको क्षेत्रमा केही गर्न सक्छु भन्ने लाग्यो ।” संघर्ष ग¥यो भने एक दिन अवश्य पनि सफलता प्राप्त हुन्छ भन्ने मान्यता छ रविनाको । पछिल्लो समयमा मोडलिङको क्षेत्रमा थुप्रै कलाकारहरुको प्रवेश भएको छ । नवप्रवेशी कलाकार र पुराना कलाकारसँग प्रतिस्पर्धा गरेर आफ्नो अभिनयलाई उत्कृष्ट देखाउनु नै अहिलेको चुनौति हो रविनालाई । रविना भन्छिन्–“संघर्ष र प्रतिस्पर्धा हरेक क्षेत्रमा नगरी कहाँ हुन्छ र ? मलाई विश्वास छ मेरो अभिनयले सबैको मन छुनेछ ।” म्युजिक भिडियोमा आफ्नो भविष्य देखेकी रविनाले अवसर पाएमा चलचित्रको अभियन समेत गर्ने बताउँछिन् । जे होस् म्याग्दीबाट मोडलिङको क्षेत्रमा आफ्नो करिअर बनाउन काठमाण्डौ पुगेकी भण्डारीको मोडलिङको यात्रामा सफलता मिलोस् शुभकामना ।