म्याग्दीमा धान दिवस मनाईयोः खेत बाँझो राख्ने समस्याले धान उत्पादन बढाउन चुनौती

  • १५ असार २०७४, बिहीबार
  • सन्तोष गौतम
  • 2788 पटक पढिएको

म्याग्दी १५ असार । खेत बाँझो राख्ने समस्याका कारण म्याग्दीमा प्रमुख खाद्यबाली धानको उत्पादन बढाउन चुनौती देखिएको छ । बसाईसराई, बैदेशिक रोजगारीका कारण जनशक्तिको अभाव तथा सिचाईको सुबिधाको कमीले खेत बाँझो राख्ने क्रम बढेपछि धान उत्पादन बढाउने सरकारी लक्ष्य हाँसील गर्न समस्या उत्पन्न भएको हो ।

धान दिवसको अवसरमा बिहीबार मंगला गाउँपालीका २ रनवाङमा आयोजित कार्यक्रममा सहभागि सरकारी अधिकारी, जनप्रतिनिधी र कृषकहरुले खेतीयोग्य जमिन बाँझो बन्ने समस्या कृषि क्षेत्रको विकासका लागि प्रमुख चुनौतीको रुपमा रहेको औल्याएका छन् ।
म्याग्दीमा ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन मध्य हाल १९ हजार ४९८ हेक्टर मात्रै खेतीमा प्रयोग भएको कृषि विकास कार्यालयको तथ्याङ्क छ । कृषि विकास कार्यालय र रनवाङ कृषक समूहले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाँझो रहेका खेतीयोग्य जमिनलाई प्रयोगमा ल्याउन प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

बरिष्ठ कृषी विकास अधिकृत श्यामप्रसाद रिजालले आर्थिक सम्बृद्धी, आयात प्रतिस्थापन र रोजगारी सिर्जनाका लागि खेती योग्य जमिनको उपयोग तथा खाने बानीमा परिवर्तन गर्नुपर्ने बताउनुभयो । धान उत्पादन बढाउन सिचाई उपलब्ध भएको ठाउँमा दुई बाली खेती गर्नुपर्ने उहाँले बताउनुभयो ।

तिन हजार ८९७ हेक्टरमा खेती हुने धानबालीबाट म्याग्दीमा वार्षिक १२ हजार ९८ मेट्रिक्टन उत्पादन हुन्छ । गौरी, जेठो बुडो, जर्नेली, पहँेले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ ।
मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोका र २ नम्बर वडाका अध्यक्ष धनबहादुर खातीले बाबियाचौर र अर्मनमा धान खेतीको प्रशस्त सम्भावना रहेको बताउनुभयो । नियमित सिचाईको व्यवस्था गरी वर्षमा दुई बाली धानखेती गर्ने, उन्नत जातको विउ प्रयोग र समयमै मलविउको व्यवस्था मिलाउन प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभयो ।

रनवाङ कृषक समूहकी अध्यक्ष हिरा सुवेदी र सदस्य श्रीराम पौडेलले कृषि कार्यमा मजदुर नपाउने, लागत अनुसारको मूल्य र गुणस्तरीय विउको साथै पर्याप्त सिचाईको समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले ग्रामिण क्षेत्रमा उपयुक्त कृषि औजार र तटीय क्षेत्रका खेतबारीमा नदीबाट पानी तान्ने प्रबिधिलाई प्राथमिकता दिन माग गर्नुभयो ।
सो कार्यक्रम पश्चात रनवाङमा सामुहिक धान रोपाई समेत गरिएको थियो । यस वर्षको धान दिवस तथा रोपाई महोत्सवको नारा दुई बाली धान खेतीको विस्तार, आर्थिक सम्बृद्धीको आधार भन्ने रहेको छ । यसैबीच असार १५ सम्म म्याग्दीमा २५ देखि ३० प्रतिशत खेतमा धान रोपाई भएको कृषि विकास कार्यालयले जनाएको छ ।

सिचाई सुबिधा, मुहानको नजिक भएका, दुई बाली लगाउने माथिल्ला क्षेत्रका कृषकले रोपाई गरीसकेका बागबानि विकास अधिकृत भोजबहादुर थापाले बताउनुभयो । तल्लो क्षेत्रका कृषकहरु धान रोपाईका लागि मुल फुट्ने गरी बर्षाको पखाईमा छन् । म्याग्दीका अधिकांश कृषकहरु हिजोआज धान र कोदो रोपाईमा व्यस्त छन् ।

सन्तोष गौतम