रघुगंगा–२ का वडा अध्यक्ष कटुवालको एक महिना : ‘ विकास निर्माण योजना कार्यान्वयमा वित्यो’

  • १५ असार २०७४, बिहीबार
  • 5371 पटक पढिएको

म्याग्दी, १५ असार । म्याग्दीका जनप्रतिनिधिहरु अधिकाँशले निर्वाचित भएपछिको एक महिना सम्मान थाप्दैमा बिताए । विभिन्न संघ संस्था तथा समुहले आयोजना गर्ने स्वागत तथा सम्मान कार्यक्रममै अधिकाँश जनप्रतिनिधिहरुले समय बेतिथ गरिरहेको सन्दर्भमा रघुगंगा गाउँपालिका–२ का वडा अध्यक्ष रिम कटुवालले भने निर्वाचित भएको पहिलो महिना जनताको सुखदुखमा बढी समय दिएर बिताएका छन् । वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम सार्वजनिक भएपछि साविक भगवती गाविस तथा हालको रघुगंगा वडा नम्बर दुईको वडा अध्यक्षको रुपमा बिजयी भएपछि कटुवाल गाउँमै रहेर जनताका काम गर्नमा व्यस्त छन् ।

तस्बिरः रिटेनिङ पर्खाल लगाउने काममा बाईकमा सिमेन्ट बोकेर उपभोत्ता समितिलाई सहयोग गर्दै वडा अध्यक्ष रिम कटुवाल

निर्वाचन भएलगतै केही दिन मतदातालाई धन्यबाद दिने र जनताका सुझाब लिने काम गरेका कटुवाल अहिले गाउँको विकास निर्माणका योजनाहरुको अनुगमन गर्ने कार्यमा व्यस्त छन् । कटुवालले पछिल्लो समय स्वागत, सम्मान तथा सत्कारमा देखिएको भड्किलोपनलाई समेत नियमन गर्ने तयारी थालिसकेका छन् । वडा नम्बर दुईको जनप्रतिनिधिहरुको बैठकले स्थानीय स्तरमा हुने सबै कार्यक्रममा अतिथी र पाहुनाहरुलाई सम्मान तथा सत्कार गर्दा स्थानीय स्तरमै उत्पादन हुने फुल, माला तथा सामानको प्रयोग गर्ने र आयातित खादा प्रयोग नगर्ने निर्णय गरिसकेको छ ।

पछिल्लो समय भित्रिएको खादा संस्कृति भड्किलो भएको र खादाको पुनःप्रयोगको समेत कुनै काम नहुने र सार्वजनिक निकायले त्यसैमा फजुल खर्च बढाउने गरेको देखिएपछि खादा प्रयोग नगर्ने निर्णय गरेको वडा अध्यक्ष कटुवाल बताउँछन् । कटुवालले राखु क्षेत्रमा गुठी जग्गाको समस्या समेत रहेकाले वडाकै बैठकबाट भोगचलन गर्दै आएका नागरिकलाई गुठी जग्गा रैकर बनाउनको लागि आबश्यक पहल समेत सुरु गरिसकेको बताए । ‘‘निर्वाचनमा जनतालाई ठुलो आसा बाँडेको छैन, जनतालाई ढाटेर काम गर्दिन र सिफारिसमा मात्रै हस्ताक्षर गरेर पनि बस्दिन, केही न केही जनतालाई राम्रा काम गरेर सेवा गर्ने प्रण गरेको छु,’’–वडाअध्यक्ष कटुवालले भने ।

आर्थिक बर्ष सकिन लागेको कारण वडामा सञ्चालित विकास निर्माण योजनाहरुको कार्यलाई पूर्णता दिन र योजनाहरुलाई गुणस्तरीय बनाउन सकेसम्म सबै योजनाहरुको अनुगमन गरिरहेको उनले बताए । वडामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न केसीले वडामा नवनिर्वाचित पदाधिकारीहरुलाई जिम्मेवारी बाँडफाँट गरि अनुगमन गर्ने र त्यहाँको समस्या तथा चुनौतिहरुलाई समेत वडाको बैठकमा पेश गरि छलफल गर्ने परम्पराको थालनी गरेका छन् । मुक्तिधाम माविमा अध्यक्ष कटुवाल, देउराली आधारभुत विद्यालय साझापानीमा वडा सदस्य विष्णु भण्डारी, अन्नपूर्ण आधारभुत विद्यालय सिजलगाउँमा सदस्य रबिन भण्डारी, सिदार्थ ज्ञानमन्दिर आधारभुत विद्यालय अधेरिखोलामा सदस्य रसिला परियार र धौलागिरी आधारभुत विद्यालय रिसिनचौतारीमा सदस्य देवेन्द्र बहादुर केसीलाई अनुगमन गर्ने जिम्मेवारी बाँडफाँड गरिएको छ ।

वडाअध्यक्षमा निर्वाचित भएपछि कटुवाल बेखगोलादेखि भगबती मैदान सम्मको सडक मर्मतको योजना कार्यान्वयनमा केन्द्रित भएका थिए । आफ्नै पहलमा अर्थमन्त्रालय मार्फत रकमान्तर गरि सो सडकको मर्मतको लागि रु ३५ लाख बजेट बिनियोजन गरेका कटुवालले बजेटको कार्यान्वयनमा उपभोक्ता समितिसंग मिलेर नेतृत्वदायि भुमिका खेलेका थिए । पुरानो सडकलाई विस्तार गरि सवारी ओहोर दोहोर गर्न सक्ने बनाउने कार्यमा सडक उपभोक्ता समितिका अध्यक्ष दिपक खत्री र वडा अध्यक्ष कटुवाल जनश्रमदान देखि बिचबिचमा आएका विवाद समाधानमा समेत निकै खटेका थिए ।

उनीहरुले बाटो निर्माण गर्ने कार्यमा स्थलगत रुपमै बसेर स्मिेट अनुसारको काम गराउने, मेसिनरी पर्खाल निर्माणको क्रममा सिमेन्ट बोक्ने जस्ता कार्यमा श्रमदान समेत गरेका थिए । तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मिनबहादुर श्रेष्ठ र प्रधानन्मन्त्री सचिबालय रहेका पुनम खड्काको सहयोगमा वडा अध्यक्ष कटुवाल र गत बैशाख ३१ मा सम्पन्न स्थानीय तह चुनाबमा रघुगंगा गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेका माओवादीका युवा नेता हरि भण्डारीले राखु क्षेत्रका सडक, खेलमैदान लगायतका विकास निर्माण योजनाहरुमा रकमान्तर गरि बजेट बिनियोजन गराउन सफल भएका थिए ।

आफुहरुकै पहलमा खेलकुद मन्त्रालयमार्फत बिनियोजन भएको चौतारी युवा क्लब पखटोलको खुलकुद मैदान मर्मतको बजेटको काम पनि सकिसकेको उनले बताए । सडक र खेलकुदमा बजेट विनियोजन भएपनि ढिला गरि बजेट परेको कारण अध्यक्ष कटुवालले डोजर, ट्याक्टर लगायतका आबश्यक उपकरणको व्यवस्थापन गरि गाउँमा भित्रिएको बजेटलाई फ्रिज भएर जाने खतराबाट जोगाएका छन् । अन्तिम समयमा आएर सम्झौता भएको सडक योजनाको पहिलो किस्ता समेत नदिएको कारण वडाअध्यक्ष कटुवालले डोजरको तेल खर्च समेत आफ्नै पहलमा ऋण खोजेरै जुटाएका थिए ।

कुनैपनि बजेट फिर्ता भएर र दुरुपयोग भएर नसकियोस भनेर वडा अध्यक्षमा निर्वाचित भएको पहिलो महिना विकास निर्माण योजनाहरुको अनुगमन र कार्यान्वयनमा विताएको कटुवालको भनाई छ । त्यस्तै अर्थमन्त्रालय मार्फत रकमान्तर गरि बजेट विनियोजन भएको रानीपौवा रिसीन चौतारा जोड्ने सडकको भिर काट्ने रु १० लाखको योजना र सन्तोष सेवा युवा क्लबको खेलमैदानलाई तारबार गर्ने रु ५ लाख बजेटको कार्यको समेत नियमित अनुगमन गरिरहेको कटुवालले बताए । अध्यक्ष कटुवालले गलेश्वर, पिप्ले, भगवती सडकलाई अर्थमन्त्रालय मार्फत रकमान्तर गरि बिनियोजन गराएको रु १ करोड बजेटको कार्यान्वयनमा समेत आफुले आबश्यक समन्वय गरिरहेको बताए ।

सो बजेटबाट गलेश्वरदेखि पिप्लेसम्मका विभिन्न स्थानमा हिमपाईप राख्ने, अस्थायी नाली खन्ने, पिप्लेदेखि भगवती मैदानसम्म सडक फराकिलो बनाउने, मेसिनरी वाल, ग्याविनको कार्य भइरहेको छ । निर्वाचित भएपछि जनताको सेवामा समप्रित भएर लागेका कटुवालले आफ्नो क्षमताले भ्याएसम्म गाउँका विकास निर्माणका कार्यलाई अगाडी बढाउने बताए । ‘‘ जनताका आसा र अपेक्षा धेरै छन्, पुरै पुरा गर्न नसकिएला तर सकेसम्म जनताका चाहनाहरुलाई पुरा गर्दै जाने हाम्रो दायित्व हो, निर्वाचनमा बिजयी भएपछि म उत्साहित भन्दा पनि भाबुक र संवेदनशिल बनेर जनतालाई सेवा गर्ने कार्यमा लागेको छु,’’–वडाअध्यक्ष कटुवालले थपे ।

उनले बर्षौदेखि राखु क्षेत्रमा यातायात व्यवसायिले चर्को भाडा लिने कार्यलाई नियमन गर्दै उचित भाडादर समायोजनका लागि समेत म्याग्दी जिप तथा बस व्यवसायि समिति र जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरिसकेको बताए । वडाअध्यक्ष कटुवालले राखु भेगका जनतालाई विकास निर्माणसंगै गाउँपालिकाको केन्द्र समेत बहुसंख्यक जनतालाई पायक पर्ने गरि मौवाफाँटमा राख्नुपर्ने र भौगोलिक विकटता रहेको पाखापानी क्षेत्रका नागरिकलाई बैकल्पिक व्यवस्था मार्फत सुविधा दिनुपर्ने कार्यलाई समेत आफुले जोड दिएको बताए । विगतमा रघुगंगा गाउँपालिकाको केन्द्रको लागि उचित व्यवस्था मिलाउनको लागि गरिएको संघर्षको कार्यक्रममा समेत सक्रियतापूर्वक लागेका कटुवालले यो कार्यमा रघुगंगा गाउँपालिकाका सबै वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख, उपप्रमुखहरुसंग आबश्यक समन्वय, सल्लाह गरि रचनात्मक सहयोग गर्ने बताउँछन् ।