यसरी अक्करे पहाडलाई छिचोल्दै दग्नाम सडक सञ्जालसंग जोडियो (फोटो फिचर)

  • १४ असार २०७४, बुधबार
  • कमल खत्री
  • 9076 पटक पढिएको

म्याग्दी, १४ असार । रघुगंगा गाउँपालिका–४ दग्नाम सडक सञ्जालसंग जोडिएको छ । छिमेकी गाउँ मौवाफाँटदेखि सडक विस्तार थालेको ७ बर्षपछि दग्नाम गाउँमा सडकको ट्याक विस्तार भएको हो । मौवाफाँटदेखि झण्डै पाँच किलोमिटर सडक विस्तार गरि दबाङ भिरमा पुगेको सडक कडा चट्टानमा सडक विस्तार गर्नुपर्ने भएकाले ट्याक निर्माणमा ढिलाई भएको हो ।


सडक विस्तारको क्रममा दबाङ भिरको अक्करे पहाडमा कडा चट्टान भएकाले बिगत लामो समयदेखि सडक विस्तारको कार्य सुस्त गतिमा थियो ।

विभिन्न समयमा लाखौँ बजेट खर्चेर बम पड्काएर भिरमा सडक चौडा गर्ने प्रयास गरेपनि अहिले मात्रै सडकको ट्याक खोल्न सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष समेत रहेका दग्नामका वडाअध्यक्ष एकबहादुर गर्वुजाले जानकारी दिनुभयो ।


उहाँका अनुसार स्थानीय यातायात पूर्वाधार विकास कोष मार्फत जिल्ला समन्वय समिति मार्फत यो बर्ष १५ र ५० लाख गरि दुई चरणमा रु ६५ लाख बजेट बिनियोजन भएको थियो ।  सोही बजेटबाट दबाङभिरको चट्टान काटेर दग्नाम गाउँमा सडकको सञ्जाल पु¥याईएको हो । यो बर्ष ठुलो बजेट विनियोजन भएको भएपनि ढिला निकासा भएको कारण सबै बजेटको उपयोग गर्न हम्मेहम्मे परेको उपभोत्ता समितिले जनाएको छ ।


सदरमुकाम बेनीदेखि नजीकै रहेको बस्ती भएपनि अक्कर र कडा चट्टानलाई काट्न नसक्दा दग्नाम गाउँमा अहिलेसम्म यातायातको पहुँच पुग्न सकेको थिएन् । लामो समयको संघर्ष र प्रयास पछि गाउँमा सडकको पहुँच पुगेपछि दग्नामबासी खुसी भएको एकता युवा क्लब दग्नामका अध्यक्ष गुन पुन गुन्जनले बताउनुभयो । उहाँका अनुसार, बुधवार पहिलो पटक सडक विस्तार गर्ने डोजरलाई तेल लगेर एउटा ट्याक्टर पुगेको छ ।

‘‘ यो बर्ष गाउँमा सडक आउँदा हामी निकै खुसी भएका छौँ, गाउँ नजिकैको भिरमा आएर रोकिएको सडक अहिले गाउँमै आईपुगेको छ, अब भिरमा विस्तार भएको सडकलाई थप स्तरबृद्धि गरि नियमित रुपमा गाउँमा सवारी साधन पुग्ने बताउनुपर्छ,’’– क्लब अध्यक्ष पुनले भन्नुभयो ।


सदरमुकाम वेनी हुँदै गलेश्वर, पिप्ले, मौवाफाँट, दग्नाम, दर्मीजा , चिमखोला हुँदै कुईनेमंगलेको घ्यासीखर्क सम्म पु¥याउने उक्त सडकखण्ड अन्र्तगत अहिले दबाङ भिरमा ट्याक निर्माण भएपछि दग्नाम गाउँमा सडकको ट्याक निर्माण कार्य भईरहेको छ ।

 

 

 

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l