उल्लासमय वातावरणमा तीन प्रदेशमा बिहानैदेखि मतदान

  • १४ असार २०७४, बुधबार
  • 1975 पटक पढिएको

 १४  असार । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/ नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार मतदान भईरहेको छ । विभिन्न ठाउँमा बर्षा भईरहेपनि सर्वसाधारणले मतदानमा सक्रियतापूर्वक उत्साहजनक रुपमा सहभागिता जनाएका छन् । सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मतदानमा सरिक हुन सबै मतदातालाई आग्रह गरेका छन्। यादवले निर्वाचनमा सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको बताए।

दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो। ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ। कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन्। पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो। दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ। मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ।

Source: ekantipur.com