दृष्टिबिहिन अमिटको सगरमाथा आरोहणको लागि सहयोग जुट्दै

  • २६ माघ २०७३, बुधबार
  • कमल खत्री
  • 1841 पटक पढिएको

DSC_0015

म्याग्दी, २५ माघ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका बागलुङका एक दृष्टिबिहिन अपांगता भएका व्यक्तिको लागि सहयोग जुट्न थालेको छ । अपांगता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पु¥याउन सक्छ भन्ने उदाहरण पेश गर्न सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् । आरोहणका लागि १ लाख अमेरिकी डलर अर्थात करिब एक करोड रुपैयाँ खर्च हुनेभएपछि केसी यतिबेला विभिन्न संघसंस्थाको सहयोगको लागि दौडधुपमा व्यस्त छन् ।

केसीको सहयोगार्थ मंगलवार बेनीमा जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग बाणिज्य संघको पहलमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहिन केसीले सरकारले समेत आरोहणको लागि स्विकृति दिईसकेको जानकारी गराउँदै आरोहणको लागि आबश्यक पर्ने खर्च जुटाउन सक्दो सहयोग गर्न आह्वान गर्नुभयो । उहाँले आगामी अप्रिल २ देखि जुन १० सम्ममा आरोहण गरिसक्ने गरि सरकारबाट आवश्यक प्रकृया पुरा गरि स्विकृति लिईसकेको र आर्थिक संकलनको लागि आफु सहयोगदाताहरुको प्रतिक्षामा रहेको बताउनुभयो ।

केसीका अनुसार हालसम्म नेपाल सरकारले रु ५ लाख सहयोग गसिकेको छ भने लायन्स क्लबहरुले समेत आबश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

केसीले सगरमाथा आरोहणको तयारी अन्र्तगत यस अगागि सोलुखुम्बु जिल्लामा रहेको आइसल्याण्ड पिक र मेरापिक हिमाल आरोहण गरिसक्नुभएको छ । यसैबिच केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउनका लागि बेनीमा विभिन्न सरोकारवालाहरुलाई समाबेश गरि एक समिति निर्माण गरिएको छ ।

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा, लायन्स क्लबको तर्फबाट चन्द्रकुमार केसी, ठाकुर प्रसाद शर्मा, ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतम, प्रध्यापक रेखाकौशल रेग्मी, पत्रकार कमल खत्री र अपांग संघ म्याग्दीका सचिब सुरेन्द्र केसी रहनुभएको समन्वय समितिले केसीको सहयोगदार्थ आर्थिक संकलनमा सहयोग गर्ने जनाइएको छ । सोही अन्र्तक्रिया कार्यक्रमकै अबसरमा रु ५५ हजार आर्थिक संकलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक संकलन गरि केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले अपांगता भएका व्यक्तिले पनि अबसर आएमा अन्य व्यक्ति सरह क्षमता देखाउन सक्ने कुरालाई केसीको आरोहण प्रयासले पुष्टी गरेको बताउँदै सक्दो सहयोग गर्न आफु प्रतिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा अपांगता भएका व्यक्तिमा शिक्षा र प्रविधिको पहुँच विस्तारमा सक्रिय रहनुभएका दृष्टिविहिन व्यक्ति खोमराज शर्मा सुवेदीले अपांगतालाई अबसरको रुपमा लिएर अगाडि बढेमा अपांगता भएका व्यक्तिले पनि साङ्ग व्यक्तिले सरह उदाहरणीय काम गर्न सक्नेमा जोड दिनुभयो । म्याग्दी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षता र लायन्स क्लबका चन्द्रकुमार केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कमल खत्री