आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु

  • १० असार २०७४, शनिबार
  • सन्तोष गौतम
  • 2053 पटक पढिएको

म्याग्दी, १० असार । समुदायको अगुवाईमा बेनी स्थित जिल्ला प्रहरी कार्यालय परिसरमा हिंसामा परेका महिला तथा बालबालीकाको लागि आश्रय र नागरीक सहायता कक्ष भवन निर्माण सुरु भएको छ । स्थानीयबासीबाट आर्थिक र भौतिक सामाग्री सहयोग जुटाएर निर्माण गरिने भवनमा सहायता कक्ष र आश्रय स्थलका दुई वटा छुट्टा छुट्टै कक्ष रहनेछन् ।

६ लाख २७ हजार रुपैया लागत अनुमान गरिएको भवनको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले शुक्रबार शिलन्यास गर्नुभयो । हिंसामा परेका महिला तथा बालबालीकाको सहज वातावरणमा उजुरी तथा गुनासो व्यवस्थापन र अनुसन्धान सहज बनाउन नागरीक सहायता कक्ष बनाउन लागिएको प्रनाउ खड्काले बताउनुभयो । यसैगरी ग्रामिण क्षेत्र र टाढाबाट आउने लक्षित समुदायलाई एक रात सम्म आश्रय सुबिधा दिइने उहाँले बताउनुभयो ।

 

आश्रयस्थल भएपछि प्रहरी कार्यालयमा उजुरी तथा गुनासो गर्नका लागि होटलमा बास बस्नेगरी बेनी आउने पिडितहरुलाई सहज हुने अपेक्षा गरिएको छ । प्रहरी कार्यालयले सूचना शाखामा नागरीक सहायता कक्ष सञ्चालन गरेको छ भने जिल्लामा पिडितको लागि आश्रय दिने संघ संस्था नहुँदा समस्या भएको छ ।

भवन निर्माणका लागि सामुदायीक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्यामलाल न्यौपानेको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको छ । आगामी ४५ दिनभित्र भवन सम्पन्न गरेर प्रयोगमा ल्याउने लक्ष्य छ । भवन निर्माणका लागि बजारबासीहरुसंग संस्थागत र व्यक्तिगत रुपमा सहयोगको आव्हान गरिएको कोषाध्यक्ष ज्योती लामीछाने पौडेलले बताउनुभयो ।

 

सन्तोष गौतम