रघुगंगा–२ भगवतीको निर्णय, सम्मान तथा सत्कारमा आयातित खादा प्रयोगमा रोक

  • ८ असार २०७४, बिहीबार
  • कमल खत्री
  • 3081 पटक पढिएको

म्याग्दी, ८ असार । पछिल्लो समय सम्मान तथा सत्कारको प्रचलन भड्किलो बनीरहेको छ । रंगीबिरंगी आयातित खादा ओढाउने प्रचलनले सम्मानको चलन भड्किलो संगै महंगो समेत हुँदै गएको छ । सम्मान र सत्कारमा बढ्दो भड्किलोपनलाई म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा भने जनप्रतिनिधिले अंकुश लगाएका छन् । वडा नम्बर दुईका नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवालको अध्यक्षतामा बसेको बैठकले स्थानीय स्तरमा हुने सबै कार्यक्रममा अतिथी र पाहुनाहरुलाई सम्मान तथा सत्कार गर्दा स्थानीय स्तरमै उत्पादन हुने फुल, माला तथा सामानको प्रयोग गर्ने र आयातित खादा प्रयोग नगर्ने निर्णय गरेको हो । परम्परागत संस्कृतिहरुमा स्वागत र सम्मानमा फुल, माला नै जोडिएर आएको भएपनि पछिल्लो समय भित्रिएको खादा संस्कृति भड्किलो भएको र खादाको पुनःप्रयोगको समेत कुनै काम नहुने भएकाले खादा प्रयोग नगर्ने निर्णय गरेको वडा अध्यक्ष कटुवालले बताउनुभयो । उहाँले सम्मान र सत्कारमा अहिले प्रयोग हुँदै आएको खादाले वातावरण प्रदुषण समेत गराउने भएकाले सम्मान संस्कृतिलाई स्थानीय संस्कारसंग जोड्नु बढी उत्तम हुने बताउनुभयो ।  विदेशबाट आयातित खादामा विभिन्न सार्वजनिक संघ, संस्था तथा कार्यालयहरुले फजुल खर्च बढाउने गरेको देखिएपछि यस्तो निर्णय गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । सत्कार तथा सम्मानमा सबैले स्थानीय स्तरका सामान प्रयोग गर्ने प्रचलनको सुरुवात गरेमा स्थानीय स्तरमा कतिपय महिलाहरुलाई फुलमाला तथा ढाकाका खादा बुन्ने काममा रोजगारिको समेत अबसर सृजना गर्न सकिने उहाँको भनाई छ ।  त्यस्तै सोही बैठकले सो वडामा मुक्तिनाथ सदावर्त गुठीको नाममा रहेको सर्वसाधारणको जग्गालाई रैतनी परिणतको लागि जिल्ला मालपोत कार्यालय मार्फत भुमिसुधार मन्त्रालयलाई आग्रह गर्ने निर्णय समेत गरेको छ । बैठकले वडाहरुको जग्गाको न्युनतम मुल्य निर्धारणसंगै चालु आर्थिक बर्षमा वडामा सञ्चालित विकास निर्माण योजनाहरुको प्रभावकारी कार्यान्वयनको लागि अनुगमनलाई तिब्र बनाउने निर्णय समेत गरेको छ । वडा सचिब बलराम पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाका जनप्रतिनिधि लगायत सरोकारवाला र अगुवाहरुको समेत सहभागिता रहेको थियो ।  

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l