धौलागिरी आधार शिविरमा हेलिकप्टर हुँदै जाने पर्यटक बढेपछि होटल व्यवसायि चिन्तीत (भिडियो सहित)

  • ६ असार २०७४, मंगलवार
  • कमल खत्री
  • 3517 पटक पढिएको

म्याग्दी, ६ असार । धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गरेका बोमबहादुर पुन अहिले निरास बनेका छन् । संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविर क्षेत्र, चक्रिय धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि धौलागिरि पदयात्रामा जाने पर्यटकहरुलाई लक्षित गरि पुनले दुई दशकदेखि दोभानमा होटल व्यवसाय गरिरहेका छन् ।

पछिल्लो समय पदमार्गको स्तरोन्नती नहुनु र सञ्चार क्षेत्रको पहुँच पु¥याउन नसक्दा धौलागिरि पदयात्रामा आउने पर्यटकहरु हेलिकप्टर हुँदै ओहोर दोहोर गर्न थालेपछि पुन लगायत धौलागिरि पदमार्गका पर्यटन व्यवसायि चिन्तीत बनेका हुन् ।

पदमार्ग अन्र्तगत बेनी देखि पदयात्रा र सवारी साधन हुँदै ताकम पुगेका पर्यटकहरु अधिकाँशले आधार शिविर क्षेत्रसम्म पुग्नका लागि विभिन्न ट्रेकिङ एजेन्जीहरुसंगको समन्वयमा हेलिकप्टर प्रयोग गर्न थालेपछि पदमार्गलाई लक्षित गरि होटल व्यवसाय सञ्चालन गरेकाहरु समस्यामा परेको पुनले बताए । दुई दशकदेखि दोभानमा होटल व्यवसाय सञ्चालन गरेका पुनले पदमार्गलाई व्यवस्थित गर्न नसकेको र पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच विस्तार हुन नसकेको कारण धौलागिरी आधार शिविर पुग्ने पर्यटकले पदयात्राको सट्टा हेलिकप्टरको सहारा लिन थालेको पुनको भनाई छ ।


पुनले धौलागिरी पदयात्रा अन्र्तगत अन्तिम मानव बस्तीको रुपमा चिनिने मुदीको बगरगाउँदेखि एक दिनको जंगल यात्रापछि पुगीने दोभानमा पर्यटकलाई लक्षित गरि होटल सञ्चालन गरेका छन् ।

राउण्ड धौलागिरी पदमार्गको भिडियो

धौलागिरी पदमार्गमा असोजदेखि मंसिर सम्म र फागुनदेखि जेठ सम्म पर्यटकहरु बढी जाने गरेका छन् ।‘‘ यो सिजनमा मात्रै झण्डै १५ ग्रुप हेलिकप्टर मार्फत नै धौलागिरी आधार शिविर पुगेर फर्किय, पदयात्रा छाडेर हेलि मार्फत पर्यटक आउने जाने गर्नु हाम्रो लागि निकै चिन्ताको बिषय हो, हामीले बर्षौदेखि दुर्गम ठाउँमा बसेर पर्यटकका लागि होटल खोलेका छौँ, पर्यटकहरु नै पदयात्रा गर्न नआए हामीले कसरी दैनिकी चलाउने’’–पुनले भने ।


पर्यटकहरु पदयात्रा मार्फत आउने गरेमा होटल व्यवसाय संगै स्थानीय स्तरमा रोजगारिका अबसरहरु समेत सृजना हुन सक्छ । धौलागिरी पमार्गमा बार्षिक १ हजार ५ सयको हाराहारीमा पर्यटकहरु जाने गरेका छन् । पछिल्लो समय हरेक बर्ष हेली मार्फत नै आवत जावन गर्नेहरुको सख्ंया बढ्न थालेपछि स्थानीय होटल व्यवसायि चिन्तीत देखिएका छन् । धौलागिरी पदमार्ग अन्र्तगत ३ हजार ५ सय ६० मिटर उचाईमा अवस्थित इटाली आधार शिविरमा २७ बर्षदेखि होटल व्यवसाय गर्दै आएका हरि तिलिजाले पदमार्ग हुँदै आउने पर्यटकहरुको संख्या घट्दै गएपछि आफुहरु समस्यामा परेको बताए ।


धौलागिरीको चक्रिय भम्रण गर्नेहरु पदमार्ग हुँदै जाने गरेपनि धौलागिरी आरोहणमा जाने अधिकाँश पर्यटक भने हेलीकप्टर मार्फत आधार शिविर पुग्ने र हेलिकप्टर मार्फत नै फर्कने गरेको तिलिजाको भनाई छ । हिमाल आरोहणमा जाने पर्यटकहरुले पदयात्रा मार्फत आधार शिविर पुग्न झण्डै ६ दिन लाग्ने र सो समय धेरै लामो हुने भएकाले समेत महङ्गो शुल्क तिरेरै भएपनि हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् ।


अर्कोतर्फ आरोहण टोलिको समाग्री समेत धेरै हुने र ढुवानीको लागि भरियाहरुको अभाब हुने, सुरक्षित रुपमा सामान लैजान समस्या हुने, मुदी बस्तीदेखि माथि सञ्चार सम्पर्क बिच्छेद हुने जस्ता समस्याहरुले आरोहीहरुले धेरै लगानी गरेर भएपनि हेलिकप्टर चार्टर गर्नुपरेको पर्यटन व्यवसायि तिलिजाको बुझाई छ । पदमार्ग अन्र्तगत सल्लाघारी, तलीत्रेखोला, नौलोवन र म्याग्दी नदीको मुहान लगायतका दर्जनौ खोलाहरुमा झोलुङ्गे पुलकोे अभाब रहेको छ भने भिर र पहिरोमा साँघुरो बाटो भएकाले पर्यटक, पथप्रर्दशक, पर्यटक मजदुर र स्थानीय बासीन्दा जोखिम मोलेर हिड््ने गरेका छन् ।


अहिलेपनि स्थानीय बासिन्दाले पर्यटक याममा काठको अस्थाई साँघु बनाएर आवत जावत गर्ने ब्यवस्था मिलाउने गरेपनि बर्खामा बाढीले बगाउने गरेको छ । यता ईटली आधार शिवीरदेखि स्वीस शिवीरसम्म पुग्ने करिब तिन किलोमिटर भिरको बाटो सबैभन्दा जोखिमयुक्त छ । खच्चर र भरीया मार्फत ईटली आधार शिवीरसम्म हिमाल आरोहीहरु मार्फत पु¥याइने पर्यटकका बस्दोबस्तीका सामान त्यहाँदेखि माथि लैजान हेलीकप्टर चार्टर गर्नुपर्ने बाध्यता रहेको राउण्ड धौलागिरी युवा क्लब बगराका अध्यक्ष डिल पुनले बताए ।

झण्डै तिन दशकसम्म हिमालको फेदी नजीक पुगेर होटल व्यवसाय गरिरको तिलिजाले आफ्नो सबै आम्दानीलाई ईटाली आधार शिविरमा व्यवस्थित क्याम्पिङ साईट र पर्यटकहरुको लागि होटल खोल्नमै खर्चेका छन् । पदमार्गको प्रचार प्रसारसंगै पर्यटक बढ्ने अपेक्षा सहित होटल व्यवासयमा लगानी गरेपनि अहिलेसम्म सन्तोषजनक रुपमा पर्यटक आगमन नबढेको पर्यटन व्यवसायि तिलिजाले गुनासो गरे।


सञ्चारको सातौ अग्लो धौलागिरी हिमाल क्षेत्रलाई समेटिएको धौलागिरी पदमार्ग धौलागिरी गाउँपालिकाको विकासको सम्भावनायुक्त क्षेत्र भएपनि यस क्षेत्रको पदमार्ग निर्माण, सञ्चार क्षेत्रको पहुँच विस्तार, पर्यटकमैत्री व्यवहार परिवर्तन लगायतको क्षेत्रमा सरकारी र स्थानीय स्तरबाट खास प्रयास र पहल हुन नसक्नु निकै दुखदायि हो ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट धौलागिरी गाउँपालिका प्रमुखमा बिजयी हुनुभएकी थमसरा पुनले धौलागिरी पदमार्ग गाउँपालिकाकै महत्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले यस क्षेत्रको विकासमा गूरुयोजना नै तयार गर्नुपर्ने आबश्यकता रहेको बताइन् ।


‘‘ धौलागिरी पदमार्ग सम्भावना भएर पनि यथेष्ट मात्रामा उजागर हुन नसकेको क्षेत्र हो, पर्यटनसंग सम्बन्धित विभिन्न सरकारी निकाय तथा विभागहरुसंग समन्वय गरि पदमार्ग, सञ्चार क्षेत्रको पहुँच विस्तार लगायतका योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने सोच गराएकी छु,’’– नवनिर्वाचित गाउँपालिका प्रमुख पुनले थपिन् ।

उनले धौलागिरी पदमार्गको विकासमा पदमार्ग निर्माण, मोवाईल फोनको सहज पहुँच, स्थानीय स्तरमा पर्यटन सम्बन्धि सचेतना अभिबृद्धि संगै धौलागिरी आधार शिविर क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापन गर्न आबश्यक रहेको बताइन् ।


पदयात्राका क्रममा पहाडबाट छङछङ गर्दै झर्ने झरनाहरुको मनमोहक दृष्य, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, तालतलैया, म्याग्दी नदीको मुहान, हिमनदी, नाउर, कस्तुरी मृग, डाफे लगायत वन्यजन्तु र पंक्षिहरु थप आकर्षणको रुपमा रहेका छन् । बैशाख जेठ महिनामा पदमार्ग आसपासका भिर पहरामा गरिने भिरमहको शिकार पनि यस पदमार्गको अर्को बिशेषता हो । धौलागिरी पदमार्ग क्षेत्रमा राज्यको तर्फबाट अहिलेसम्म खास चासो दिइएको छैन् ।


हिमाल आरोहण र भम्रणमा जाने पर्यटकहरुको सम्बन्धमा जाँचबुझ गर्ने कुनै पनि सरकारी निकाय नहुनुले पनि यस क्षेत्रको पर्यटन विकास ओझेलिएको हो । मुदी गाउँदेखि माथि अधिकाँश पदयात्रा भिर, जंगल हुँदै बनाइएका गोरेटो बाटो हूँदै गर्नुपर्ने भएपनि खानेपानी, आराम गर्ने चौतारा लगायतका अत्याबश्यक पूर्वाधारहरु समेत तयार छैनन् ।


दर्जनौ खोलानालाहरुमा झोलुङ्गे पुल निर्माण हुन सकिरहेको छैन् । बगर गाउँदेखि माथि सञ्चार सम्पर्क नहुने समस्या विद्यमान रहेको छ भने इटाली आधार शिविरदेखि धौलागिरी आधार शिविरसम्मको अधिकाँश पदमार्गको क्षेत्र ग्येसियर रहेकाले त्यस क्षेत्रमा पदमार्ग निर्माण चुनौतीपूर्ण रहेको छ । त्यसैले धौलागिरी पदमार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरि पदयात्रा मार्फत नै पर्यटकहरुलाई आधार शिविर सम्म पुग्ने वातावरण सृजना गर्न सकेमा मात्रै यसले समग्र धौलागिरी गाउँपालिका क्षेत्रको विकासमा टेवा पु¥याउन सक्छ ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l