कमिसनको चलखेल भएको भन्दै अनुदानको कृषि उपकरण फिर्ता

  • ५ असार २०७४, सोमबार
  • 2783 पटक पढिएको

म्याग्दी ५ असार । जिल्ला कृषि विकास कार्यालयले म्याग्दीका भुकम्प प्रभावित कृषकहरुलाई वितरण गर्ने अनुदानका कृषि उपकरण खरिदको क्रममा कमीसनको चलखेल भएको भन्दै एक कृषकले आफुले लिएका उपकरण फिर्ता गर्नुभएको छ । अनुदानका सामाग्री कृषक आफैले खरिद गर्न पाउने भएपनि कर्मचारीले आफू अनुकुलको आपुर्तीकर्ताबाट महँगो मूल्यमा उपकरण खरिद गर्न बाध्य बनाएको भन्दै मंगला गाउँपालिका–४ का कृषक प्रेम गिरीले सोमबार सामान फिर्ता गर्नुभएको हो ।

भुकम्प पिडित कृषकलाई अनुदानमा उपकरण तथा सामाग्री प्रदान गर्ने कार्यक्रम अन्र्तगत थोपा सिचाईका सामाग्री बजार दरभाउ भन्दा भारी महंगो मुल्य लगाएको थाहा पाएपछि आफुले कार्यालयको चलखेल विरुद्ध सो सामाग्री फिर्ता गरेको उहाँले बताउनुभयो । कार्यालयको ९० प्रतिशत अनुदान र कृषकको १० प्रतिशत लगानीमा यो बर्ष कार्यालयले ८ जना कृषकहरुलाई थोपा सिचाईका सामाग्री अनुदानमा वितरण भईरहेो छ । कुल ३२ हजार ७५० रुपैया मुल्य बराबरको एक थान पाँच सय लिटरको पलास्टीक टंकी, २५ एम एमको ३० मिटर साधारण र तिन सय मिटर (एक रोल) थोपा सिचाई पाईप, फिल्टर लगायतका सामाग्री उपलब्ध गराएको भरपाई गराएपनी ति सामानको मूल्य बजार भाउ भन्दा बढी भएको कृषकहरुको गुनासो छ ।

यता कार्यालयको अनुदान प्राप्त गर्न जिल्ला कृषि विकास समिति मार्फत छनौटमा परेका कृषकले सामान किनेर दश प्रतिशत रकम कृषि विकास कार्यालयको खातामा जम्मा गरी नब्बे प्रतिशत अनुदानका लागि बिल पेश गर्नुपर्ने कार्यबिधी जिल्ला कृषि विकास कार्यालयले मिचेको भेटिएको छ । अहिले कार्यालयले अनुदानको लागि छनौटमा परेका कृषकहरुलाई कार्यविधि विपरित आफू अनुकुलको आपुर्तीकर्ताले ल्याएको सामान थमाए भरपाई गराएको कृषकहरुको भनाई छ ।

“ कार्यविधि अनुसार हामी छनौटमा परेका कृषकले आफ्नो अनुकुल हुने गरि बजारमा प्रतिस्पर्धाबाट सामान खरिद गर्न पाउनुपर्छ, तर कार्यालयले आफु अनुकुलको आपुर्तिकर्ताबाट बजारमुल्य भन्दा महंगो दरका सामाग्री हामीलाई थमाएर भरपाई गराएको छ, ति सामानको बजार मूल्यमा तिन गुणासम्म अन्तर भएको पाइएपछी कार्यालयमै लगेर फिर्ता गरेको हुँ’’–गिरीले भने । गत शुक्रवार जिल्ला कृषि विकास कार्यालयको परिसरबाट लगेका अनुदानका सामान गिरीले सोमबार कार्यालयमै लगेर फिर्ता गर्नुभएको छ । थोपा सिचाईका कृषकलाई आपूर्तीकर्ताले प्रतिमिटर ७२ रुपैयाका दरले उपलब्ध गराएको साधारण पोलीथिन पाईपको बजार मूल्य प्रतिमिटर ५१ रुपैया रहेको बेनीका ब्यापारीहरुले बताएका छन् ।

यसैबिच जिल्ला कृषि विकास कार्यालयले चालु आर्थिक बर्षमा बितरण गरिरहेको अनुदान सुबिधा वितरणमा पहुँचवाला र सदरमुकाम आसपासकालाई प्राथमिकता दिएको पाइएको छ । चालु आर्थिक वर्षमा ३२ लाख ७० हजार रुपैया अनुदानमा विभिन्न कृषि औजार वितरण गर्न कृषि विकास समितिको बैठक मार्फत आवेदन दिएका १५० जना मध्य ३७ जनालाई छनौट गरेको थियो । तिन लाख रुपैया बजेट रहेको दश जना कृषकलाई सिचाई प्रयोजनका लागि थोपा सिचाई प्रबिधिको सामाग्री वितरण भैरहेको छ भने अन्य कार्यक्रममा छनौट भएकालाई अनुदान वितरण गर्ने तयारी छ ।

कार्यालयले ८ जना कृषकहरुलाई पचास प्रतिशत (बढीमा ५० हजार रुपैयासम्म) अनुदानमा मिनीटिलर, ८ जनालाई बढीमा नब्बे हजार रुपैया पर्नेगरी पलास्टीक पोखरी, पचास प्रतिशत (बढीमा ४५ हजार रुपैया) अनुदानमा दश जनालाई धान गहुँ चुट्ने उपकरण, पचास प्रतिशत (बढीमा १० हजार रुपैया) अनुदानमा १५ जनालाई मकै छोडाउने विद्युतीय उपकरण वितरण गर्ने निर्णय गरेको थियो । नब्बे प्रतिशत (पाँच लाख रुपैया) अनुदानमा मंगला गाउँपालीका २ बाबियाचौरका भरतप्रसाद श्रेष्ठले जिरो ईनर्जी पम्प जडान गरेका छन् भने सात लाख रुपैया बजेट रहेको दुई हजार १४२ थान तिन तह हर्मेटिक भण्डारण ब्याग वितरण गर्ने लक्ष्य छ ।

अनुदान सुबिधा वितरणमा बास्तवीक कृषक भन्दा जनप्रतिनिधी, गाउँको खेतबारी अधिया, भाडामा दिएर सदरमुकाम बस्ने राजनितिक दलका जिल्ला स्तरका नेताहरुलाई प्राथमिकता दिइएको देखिएको छ । बरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले कृषकलाई बैङ्कमा खाता खोल्न झञ्जट हुने भएकाले ब्यवहारीकता हेरेर सुबिधा र सहजताका लागि प्रयास गर्दा कृषकले नबुझेर कार्यालयलाई दोष लगाएको गुनासो गर्नुभयो । कृषि ईञ्जिनियरीङ निर्देशनालयमा सूचीकृत भएका आपूर्तीकर्ताबाट तोकिएको गुणस्तर र मूल्यमा ल्याइएको ईजरायलमा बनेको थोपा सिचाई प्रबिधिको पाईपको बारेमा नबुझेर भ्रम सिर्जना भएको उहाँको भनाई छ ।