शोकमा डुबेका राखुका कार्कीको परिवारलाई कोरियामा राहत संकलन सुरु

  • ४ असार २०७४, आईतवार
  • 5014 पटक पढिएको

म्याग्दी, ४ असार । गत शुक्रवार विहान दक्षिण कोरियामा मृत्युबरण गरेका रघुगंगा गाउँपालिका–२ घट्टका शिब कुमार कार्कीको घरपरिवारलाई राहत जुटाउन कोरियामा आर्थिक संकलन सुरु गरिएको छ । ९ महिना अगाडी कोरिया पुगेका कार्कीको असामयिक निधनले शोकमा डुबेको परिवारलाई राहतको लागि कोरियामा रहेका राखुबासीको संस्था रखाले सेवा समाजको सक्रियता र मोना कोरियाको नेतृत्वमा कार्कीको परिवारको लागि आर्थिक संकलन थालिएको हो । २७ बर्षका कार्कीको कोरियाको सौल नजिकै खिम्पो शहर स्थित प्यास्टिकको दाना बनाउने ’होंजिन’ नामक कम्पनीमा सुतेकै अबस्थामा असामयिक निधन भएको थियो ।

त्यहाँ स्थित नेपाली राजदुत र प्रहरीलाई घटनाको अनुसंधान गरि सबलाई जतिसक्दो छिटो नेपाल पठाउन त्यहाँ रहेका राखुबासी तथा म्याग्देलिहरुले पहल गरिरहेका छन् । अहिले कार्कीको सबलाई त्यहाँ स्थित अस्पतालमै राखिएको छ ।

कार्कीको घरपरिवारको आर्थिक अबस्था समेत कमजोर रहेको र घरखर्च चलाउन रोजगारिको लागि प्रवास पुगेको छोराको निधनले शोकमा डुबेको परिवारलाई राहतका लागि आर्थिक संकलन थालिएको मोना कोरियाले जनाएको छ ।

मोना कोरियाले युबहादुर मल्ल संयोजक र सुमन पौडेल सह–संयोजक रहेको आर्थिक संकलन उपसमिति गठन गरि कार्कीको घरपरिवारलाई राहत जुटाउन अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन नै झण्डै नेपाली करिब ४ लाख रुपैयाँ नगद र बोल रकम संकलन भएको अभियानका सह–संयोजक सुमन पौडेलले बताउनुभयो ।

उहाँले असामयिक रुपमा घटेको घटनाले पिडित परिवारमा ठुलो क्षति र समस्या निम्त्याएकाले मानविय रुपमा उनीहरुको लागि राहतको अनुभुतिका लागि सबै ठाउँमा रहेका राखुबासी र माग्देलिहरुबाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । यसैबिच आईतवार कोरियामा भएको स्वर्गीय इश्वर गुरुङ स्मृति कप भलिबल प्रतियोगितामा मोना कोरियाले कार्कीको शोकमा रहेकाले सहभागिता जनाएको छैन् ।

कोरियामा रहेका नेपाली समाजहरुबिच हुने प्रतियोगिता स्थलमा उपस्थित भएपनि कार्कीको निधनप्रति दुख व्यक्त गर्दै शोकको घडिमा मनोरञ्जनात्मक प्रतियोगितामा सहभागिता नजनाउने निर्णय गरेको मोना कोरियाका अध्यक्ष आलोक बानीयाँले बताउनुभयो । मोना कोरियाले कार्कीको निधनको अनुसंधान र सब नेपाल पठाउने कार्यमा दुताबास र त्यहाँ स्थित प्रहरी तथा कम्पनीसंग आबश्यक पहल र सहकार्यका लागि मोना कोरियाका अध्यक्ष बानियाँ र आर्थिक संकलन अभियानका संयोजक मल्ललाई जिम्मेवारी समेत दिएको छ ।