प्रयाप्त बर्षा नभएपछि म्याग्दीमा धान रोपाई प्रभावित

  • ४ असार २०७४, आईतवार
  • 3118 पटक पढिएको

म्याग्दी, ४ असार । प्रयाप्त बर्षा नभएको कारण म्याग्दीमा धान रोपाई प्रभावित बनेका छ । असार महिनाको सुरुवात संगै म्याग्दीका कृषकहरु धान रोपाइको चटारोमा जुटेपनि प्रयाप्त बर्षा नभएको कारण रोपाई प्रभावित बनेको हो । मानो खाएर मुरी फलाउने महिनाको रुपमा लिइने असार महिनामा जिल्लाका अधिकाँश कृषकहरुले धान रोपाइ सुरु गर्ने तयारी गरेपनि पानीको अभाबले रोपाईले तिब्रता पाउन नसकेको कृषकहरुको भनाई छ ।

जेठ अन्तिम सातादेखि माथिल्लो भेगका कृषकहरुले धान रोपाई सुरु गर्ने भएपनि बर्षाको अभाबले जिल्लामा अहिलेसम्म रोपाई कार्यले गति लिन नसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाको अधिकाँश कृषकहरु सिचाई सुविधाको अभाबको कारण खेत रोपाईको लागि बर्षामै भर पर्नुपर्ने बाध्यता रहेको छ । मुल फुट्ने गरि बर्षा नभएसम्म रोपाई सुचारु गर्न नसकिने किसानहरुको भनाई छ ।

जिल्लामा कुल ३ हजार ८९७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । जिल्लाको उच्च पहाडी केही गाविस बाहेक अधिकाँश क्षेत्रमा धान खेती हुँदै आएको छ । जिल्लामा धान खेती प्रमुख खाद्य बालिको रुपमा रहेको छ । कृषकहरुले स्थानीय जातका गौरी, जेठो बुडो, मार्सि, ताकमारे, भट्टे , छमरुङ, माछापुच्छ«े, खुमल १०, खुमल ११ लगायतका उन्नत जातका धानहरु रोप्ने गरेको जिल्ला कृषि विकास कार्यालयका बागबानि विकास अधिकृत भोजबहादुर थापाले जानकारी दिनुभयो । गत बर्ष जिल्लामा १२ हजार ९८ दशमलब ८३ मेट्रिकटन धान उत्पादन भएको थियो । फाईल तस्बिरः म्याग्दीअनलाई