विषाक्त खानाको कारण दुई सदस्य गुमाएका गुरुङ परिवारलाई सहयोग

  • २ असार २०७४, शुक्रबार
  • 2997 पटक पढिएको

म्याग्दी, २ असार । विषाक्त खानाका कारण परिवारका श्रीमती र छोराको मृत्युवरण सहेका म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका पबहादुर गुरुङलाई करिब तीन लाख आर्थिक सहयोग जुटेको छ । गत जेठ १९ गते ससुराली घर मँगला –५ छिस्वाङमा बिषाक्त खाना खाएको कारण पबहादुरकी श्रीमती चिना र १४ महिने छोराको मृत्यु भएको थियो भने पबहादुर शक्त विरामी भएका थिए । आर्थिक अबस्था कमजोर रहेको कारण विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत पबहादुर गुरुङको उपचारमा आर्थिक अभाब रहेपछि पात्लेखर्क रिखार युवा क्लबले आर्थिक संकलन अभियान सञ्चालन गरेको थियो ।  

गुरुङको उपचार र उनको परिवारको सहयोगार्थ कुल ४ लाख ४१ हजार ८०९ रुपैयाँ संकलन भएको क्लबका सचिब अंकित पुनले जानकारी दिनुभयो । उहाँका अनुसार गुरुङको उपचारार्थ रु १ लाख ५८ हजार खर्च भएको थियो । अभियानको क्रममा संकलन भई बाँकी रहेको रकमलाई शुक्रवार बेनीमा पत्रकार सम्मेलन गरि क्लबले पिडित गुरुङ परिवारलाई हस्तान्तरण गरिएको छ । क्लबका उपाध्यक्ष टेकबहादुर गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा रघुगंगा गाउँपालिकाका प्रमुख भबहादुर भण्डारी र नेपाल पत्रकार महासंघका अध्यक्ष तारानाथ शर्माले पिडित पबहादुर गुरुङ र उहाँकी आमा देविकला गुरुङलाई बचत भएको कुल २ लाख ८३ हजार ५१६ रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै गाउँपालिका प्रमुख भण्डारीले गुरुङ परिवारलाई आईपरेको विपत्तिमा सहयोग गरि स्वदेश तथा विदेशमा रहेका म्याग्देलिहरुले नमुना कार्य गरेको बताउनुभयो । गुरुङ परिवारमा बिषाक्त खानाले ल्याएको समस्यामा राहत स्वरुप भण्डारीले समेत व्यक्तिगत रुपमा २० हजार सहयोग गर्नुभएको थियो । कार्यक्रममा नेपाल तरुण दलका अध्यक्ष मुकुन्द छन्त्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष शर्माले मानविय सेवा, आर्थिक अभाबको कारण उपचारबाट बञ्चिीतमा परेकाहरुको सहयोग संगै विकास निर्माणको क्षेत्रमा प्रवासमा रहेका म्याग्देलिहरुले रचनात्मक भुमिका खेलेको बताउनुभयो ।

कार्यक्रममा पत्रकार गोपाल छन्त्यालले गुरुङ परिवारमा विषाक्त खानाको कारण ज्यान गुमाएकाहरुको किरियाखर्च र सक्त विरामी भई घाईते भएकाको उपचार खर्चको अभाब रहेको सम्बन्धमा सञ्चार माध्ययमा आएको समाचारले गुरुङ परिवारलाई सहयोग जुट्न सहयोग गरेको बताउनुभयो । कार्यक्रममा विषाक्त खानको कारण सक्त विराई भई पोखराको कास्की सेवा अस्पतालमा उपचार गरि फर्किएका पबहादुर गुरुङले आफुले श्रीमती र छोरालाई गुमाएको र आफु समेत अस्पतालमा उपचाररत रहेको अबस्थामा सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो । क्लबका सदस्य खिम गर्वुजाले स्वागत गर्नुभएको कार्यक्रमका सञ्चालन सचिब पुनले गर्नुभएको थियो ।