बुद्ध एकेडेमीलले असारलाई नेपाली भाषा साहित्यको महिनाको रुपमा मनाउने

  • २ असार २०७४, शुक्रबार
  • 3142 पटक पढिएको

म्याग्दी, २ असार । म्याग्दीको बुद्ध एकेडेमीले नेपाली भाषाको एकिकरणकर्ताका रुपमा परिचित आदिकवि भानुभक्त आचार्यको जन्म महिना असारलाई नेपाली भाषा साहित्यको महिनाका रुपमा मनाउने भएको छ ।बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीले असार महिनाभरी विद्यालयमा नेपाली भाषा र साहित्यसम्वन्धि विभिन्न कार्यक्रमहरुको आयोजना गरी आदिकवि भानुभक्तको स्मरण गर्नुका साथै भानुभक्तद्धारा रचित नेपाली रामायणको वाचन गरेर भानुभक्तको जन्मजयन्ति मनाउने भएको हो ।
नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व आदिकवि भानुभक्त आचार्यको तस्वीरमा माल्यापर्ण गरी असार १ गतेदेखि सुरु भएको ‘असार ः नेपाली भाषा साहित्यको महिना’ कार्यक्रमको विद्यालयका प्रिन्सिपल राजेन्द्रप्रसाद शेढाईले उद्घाटन गर्नुभएको हो ।असार महिनाभरी ‘घाँसी भानुभक्त संवाद’, रामायण पाठ, कविता प्रतियोगिता, भानुभक्तद्धारा रचित ‘बधुशिक्षा’ को सान्दर्भिकता र समिक्षा,शिक्षक–विद्यार्थी प्रश्नोत्तर,अन्तरक्रिया लगाएतका कार्यक्रमहरु गरेर नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मोत्सव मनाइने विद्यालयले जनाएको छ ।
विसं १८७१ असार २९गते तनहुँको रम्घामा जन्मिएका भानुभक्त आचार्यले नेपाली भाषामा स्तरीय र उत्कृष्ट कविता काव्यको रचना गरेर नेपाली भाषा साहित्यको श्रीवृद्धि गरेका हुन् । धार्मिक,आध्यात्मिक र नैतिक भावधारालाई नेपाली जनमानसमा पु¥याएर समस्त नेपाली भाषालाई एकताको मालामा उन्ने काम गरेका आदिकवि भानुभक्त आचार्यको विसं १९२५ सालमा मृत्यु भएको थियो ।