ओम कुमारी शान्ति कोषलाई बहराईनमा रहेका म्याग्देलिद्धारा रु ८ लाख बढी सहयोग

  • १ असार २०७४, बिहीबार
  • कमल खत्री
  • 3348 पटक पढिएको

म्याग्दी, १ असार । म्याग्दीमा परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले विपन्नहरुको उपचारमा सहयोग गर्ने उदेश्यले सुरु गरेको १ करोड ५० लाखको अक्षयकोष बनाउने अभियानमा सहयोग जुट्ने क्रम जारी छ । अभियान अन्र्तगत कोषलाई बहराईनमा रहेका म्याग्देलिहरुले रु ८ लाख बढी सहयोग गरेका छन् । बहराईनमा रहेका म्याग्देलिहरुको संस्था म्याग्दी उद्धार समिति बहराईनको पहलमा त्यहाँ रहेका म्याग्देलिहरुले कोषमा रु ८ लाख ११ हजार १ सय ५६ सहयोग गरेका हुन् ।

       विहिवार बेनीमा आयोजित एक कार्यक्रममा समितिका मानार्थ खप्रसाद शेरपुञ्जा, व्यवस्थापक सहसचिब रमेश केसी, सदस्य घनबहादुर कार्की लगायतले कोषका अध्यक्ष राजेश शाक्यलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा म्याग्दी उद्धार समिति बहराईनका मानार्थ शेरपुञ्जाले रु १ लाख २ हजार कोषलाई सहयोग गर्ने घोषणा गर्नुभयो ।

समितिको आमन्त्रणमा नयाँ बर्षको अबसरमा बहराईन पुगेका कोषका अध्यक्ष शाक्य, सचिब लोकेश पुन मगर र संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले त्यहाँ रहेका म्याग्देलिहरुलाई कोषको अभियानबारे जानकारी गराउनुभएको थियो । सो क्रममा बहराईनमा रहेका म्याग्देलिहरुले रु १६ लाख सहयोग घोषणा गरेका थिए । पहिलो चरणमा घोषणा भएर संकलन भएको रकमलाई हस्तान्तरण गरिएको म्याग्दी उद्धार समिति बहराईनका व्यवस्थापक सहसचिब केसीले बताउनुभयो ।

उहाँले विपन्न बर्गको उपचारको लागि कोषले सञ्चालन गरेको अभियान उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा समेत जिल्लाको सामाजिक क्षेत्रमा बहराईनमा रहेका म्याग्देलिहरुको साथ, सहयोग जारी रहने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा समितिका मानार्थ शेरपुञ्जाले आर्थिक अभाबको कारण कसैको पनि मृत्युबरण हुन नपरोस भन्ने मुख्य उदेश्य बोकेको शान्ति कोषले देशभरमै उत्कृष्ट सामाजिक कार्य गरेको भन्दै प्रसंसा गर्नुभयो ।

बहराईनमा रहेका म्याग्देलिहरुले उपलब्ध गराएको सहयोग मध्ये मानार्थ खप्रसाद शेरपुञ्जाले १ लाख दुई हजार, हिरा पाईजाले १ लाख एक हजार, अध्यक्ष तेजेन्द्र थापाले १ लाख, समितिले १ लाख, कोषाध्यक्ष विकास पाईजाले ७० हजार, गोरख राम्जालीले ५५ हजार ५ सय ५५, सल्लाहकार भरत रत्नले ५६ हजार, दग्नाम समाज बहराईनले ६० हजार सहयोग गर्नुभएको छ ।

आर्थिक अवस्था कमजोर भएकै कारणले कोही पनी म्याग्देलीले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले स्थापित कोषमा एक करोड ५० लाख रुपैया पु¥याउने र त्यसको ब्याजबाट सहयोग गर्ने लक्ष्य रहेको अध्यक्ष राजेश शाक्यले बताउनुभयो । हालसम्म १८ जना व्यक्तिले दुई लाख रुपैया सहयोग गरेर संरक्षक, मोना कतार र म्याग्दी उद्धार समिति बहराईनले ३ लाख बढी सहयोग गरि संस्थागत संरक्षक र ५०० जनाले पाँच हजार रुपैया सहयोग गरेर आजिवन सदस्यता लिएका छन् ।

कोषमा हाल ७० लाख रुपैया भन्दा बढी संकलन भएको छ । बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवंगत भएकी बेनपा ४ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा वि.स २०७१ मंसिरमा स्थापीत कोषले हालसम्म ३२ जना मुटु, मृगौला, रक्तक्यान्सर, हेपाटाईटिस बि, मलिग्रन्ट क्यान्सर लगायत जटिल रोगबाट थलिएका ३२ जना बिरामीहरुलाई ७० लाख रुपैया भन्दा बढी सहयोग जुटाएर उपलब्ध गराएको छ ।


प्रत्येक बिरामीहरुको सहयोग संकलन अभियानका लागि छुट्टा, छुट्टै बैङ्क खाता खोलीने, दाताबाट प्राप्त हुने सहयोग र खर्च विवरण सामाजीक सञ्जाल मार्फत सार्वजनीक गर्दै आएको छ । सो कार्यक्रम कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत र सचिब लोकेश पुन मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

यसैबिच सोही अबसरमा विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएका र आफु समेत सक्त घाईते भई उपचाररत  म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कका पबहादुर गुरुङको परिवारलाई कोषले रु १५ हजार सहयोग हस्तान्तरण गरेको छ । सो सहयोग गुरुङका आफन्त टिकामायाँ पाईजा र आर्थिक संकलन अभियान सञ्चालन गरेको रिखार युवा क्लबका सचिब अंकित पुनलाई हस्तान्तरण गरिएको थियो ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l