रुवालाखोलादेखी सिहदरबारसम्म यस्तो छ नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाको जिवनी

  • २४ जेष्ठ २०७४, बुधबार
  • 2183 पटक पढिएको

काठमाडौ, २३ जेठ । नेपाली कांग्रेस संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाको जन्म २००४ जेठ ३० गते रुवाखोला असिग्राम–५ डडेल्धुरामा भएको हो । हाल उनी बूढानीलकण्ठ नगरपालिका–१ भद्रकालीमा बसोबास गर्दै आएका छन् । बाल्यकालदेखि नै राजनीतिमा चासो राख्ने नवनिर्वाचित संसदीय दलका नेता देउवा पार्टी संस्थापक नेता बीपी कोइरालाको राजनीतिक प्रेरणाबाट सक्रिय विद्यार्थी राजनीतिमा होमिएका थिए ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा प्रथम जननिर्वाचित सरकार अपदस्थ गरिएपछि नेता देउवा कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका संस्थापक सभापति हुन् । त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा पनि स्नातक देउवा सोही विषयमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।

पिता प्रसादसिंह देउवा र माता द्रौपतीदेवी देउवाका जेठा छोरा सभापति देउवाको एक छोरा छन् । उनकी धर्मपत्नी डा । आरजु राणा देउवा पनि हाल व्यवस्थापिका–संसद्को सदस्य छिन् । नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा एउटै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट अधिक मतान्तरमा निर्वाचित भए ।

विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा पनि डडेल्धुरा र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी देउवाले विसं २०४८ देखि २०५१ सम्म गृहमन्त्री एवम् तीनपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

यसअघि विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी पहिलोपटक कांग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । विसं २०५१ मा नेकपा ९एमाले०का अध्यक्ष मनमोहन अधिकारीको नेतृत्वमा गठित पहिलो कम्युनिस्ट सरकार विसं २०५२ मा ढलेपछि उनी पहिलोपटक नेपालको प्रधानमन्त्री बने । विसं २०५८ मा दोस्रोपटक प्रधानमन्त्री भएका देउवा २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रबाट चुनाव गराउन असक्षम भनी प्रधानमन्त्री पदबाट बर्खास्तीमा परे ।

बर्खास्त भएको दुई वर्षपछि २०६१ सालमा तत्कालीन राजा ज्ञानेन्द्रबाट पुनः प्रधानमन्त्री बनाइएका नेता देउवा २०६१ माघ १९ गते प्रधानमन्त्री पदबाट बर्खास्ती भई नजरबन्दमा परे । राजा ज्ञानेन्द्रको यो कदमपछि संसदीय राजनीतिमा सक्रिय राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा९माओवादी०बीच सहकार्यको वातावरण बनेको थियो ।

विसं २०५९ जेठ ८ मा संसदीय दलको नेता एवम् प्रधानमन्त्री रहेका बेला नेता देउवाले संसद् विघटन गरेपछि कांग्रेस विभाजन भएको थियो । कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस ९प्रजातान्त्रिक०को सभापति बने । काँग्रेस र काँग्रेस ९प्रजातान्त्रिक०को विसं २०६३ मा एकतापछि उनी नेपाली काँग्रेसको वरिष्ठ नेता भए ।

देउवा विसं २०५६ मा कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले गठन गरेको माओवादी समस्या समाधान उच्चस्तरीय समितिका अध्यक्षसमेत बने । प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेवि सङ्घका प्रथम सभापति हुन् भने सुदूरपश्चिममा कांग्रेसका प्रभावशाली व्यक्तित्व मानिन्छन् ।

देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलङ्का, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, डेनमार्क, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरिसकेका छन् ।

कांग्रेसको १३ औँ महाधिवेशनमा कार्यबाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै देउवा सभापति पदमा विजयी भए। यसअघि पार्टीको १०औँ महाधिवेशनमा नेता गिरिजाप्रसाद कोइराला र १२औँ महाधिवेशनमा नेता सुशील कोइरालाबाट समेत देउवा पार्टी सभापति पदमा पराजित भएका थिए ।

पार्टी संसदीय दलको नेतामा पनि विसं २०५६ नेता भट्टराईले राजीनामा दिएपछि तत्कालीन सभापति गिरिजाप्रसाद, पहिलो संविधानसभा निर्वाचनपछि तत्कालीन उपसभापति पौडेल र दोस्रो संविधानसभा निर्वाचनपछि सभापति सुशील कोइरालाबाट नेता देउवा पराजित भएका थिए ।

नेकपा माओवादी केन्द्र तथा नेपाली काग्रेसको गठवन्धनबाट प्रधानमन्त्रि भएका पुष्पकमल दाहाल (प्रचण्ड) ले जेठ १० गते नै राजिनामा दिएसँगै आलोपालोको सरकारको नेतृत्वको लागी शेरवहादुर देउवालाई प्रधानमन्त्रिको लागी बाटो खुलेको हो । नेकपा माओवादी केन्द्र, राप्रपा, फोरम लोकतान्त्रिक लगायतका दलको समर्थनमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा ३८८ मत सहित प्रधानमन्त्री बन्नुभएको छ । विपक्षीमा १७० मत खसेको थियो । जम्मा ५५८ मत खसेको थियो ।

-सेतो खबर