बेटर नेपालले थाल्यो मन्सरा बचाऔँ अभियान

  • २२ जेष्ठ २०७४, सोमबार
  • 2601 पटक पढिएको

जेठ २२, काठमाडौँ ।  नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल मिशन बेटर नेपालले आँखाको क्यान्सरबाट ग्रसित कालिकोटकी बालिका मन्सरा लुहारको जीवन बचाउका लागि अभियान सुरु गरेको छ । गत सालदेखि नै कालिकोटको दुर्गम भेगका बासिन्दाहरूको स्वास्थ्य सुधारका लागि क्रियाशील मिसनले मनसराको आँखाको शैल्यक्रियाका लागि अभियन सुरु गरेको हो ।

कालिकोट रास्कोट नगरपालिका ७ निवासी रने लुहारकी चार वर्षीया छोरी मनसरा लुहरको आँखामा केही महिना अगाडि सामान्य चोट देखिए पनि उपचारको अभावमा उक्त समस्याले घाउको रूप लिएर बढ्दै गएपछि अहिले आँखो छोपिएको र घाउ दिनदिन बढ्दै र कुहुँदै गएको स्थानीय श्रोतले जनाएको छ ।

मान्मा अस्पतालमा कार्यरत अहेब दीर्घबहादुर नेपालीले बेटर नेपाललाई जानकारी गराएअनुसार उनको उपचार जिल्लामा सम्भव नभएकोले काठमाडौँ अथवा अन्य स्थानमा लानुपर्ने बाध्यता देखापरेको छ । मिसन बेटर नेपालले मनसरालाई काठमाडौँ ल्याउने तयारी गरेको छ ।

यो रोग रेटिनो ब्लास्टोमा अल्सरेटिभ ट्यूमर भनिने क्यान्सरजस्तो रोग भएको त्रिपूरेश्वर आँखा अस्पतालका नेत्रचिकित्सकहरूले बेटर नेपाललाई जनाएका छन् । चिकित्सकहरूले उक्त रोगको उपचार त्रिपुरेश्वरमा सम्भव नभएकोले टिचिङ अस्पतालमा भर्ना गर्न सल्लाह दिएअनुसार बेटर नेपालले सो पहल पनि गरिरहेको संयोजक रबिन खतिवडाले जानकारी गराएको छन् ।

उनले मनसराको उपचारका लागि अर्थ सङ्कलन पनि भैरहेकोले ईच्छुक दाताहरूले मनसरा लुहारकै नाममा, सानिमा बैङ्कको मान्मा शाखामा खोलिएको खाता नम्बर ०४४०००००१०० मा रकम जम्मा गरेर सहयोग गर्न अपिल पनि गरेका छन् । साथै, अरु पनि व्यक्ति र संस्थाले यसतर्फ चासो देखाएको हुँदा बसै एकीक्रित रुपले अगाडि बढ्न पनि संयोजक खतिवडाले अपिल गरेका छन् । सहयोग गर्न चाहने अथवा यसबारे थप बुझ्न चाहनेले मिशनका संयोजक रबिन खतिवडालाई ९८४२७७१५०० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।