भोलि प्रधानमन्त्री चयन पक्का, एमालेले संसद नरोक्ने

  • २२ जेष्ठ २०७४, सोमबार
  • 2267 पटक पढिएको

जेठ २२ – सदन खुलाउने प्रयास स्वरुप प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहमति जुटेको छ ।सभामुखको च्याम्बरमा प्रमुख दलका शीर्ष नेताहरुको सहभागितामा बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलिको संसद बैठक अवरोध नगर्ने बताएको हो ।

बैठकपछि एमाले नेता झलनाथ खनालले भोलिको संसद बैठक अवरोध नगर्ने सहमति भएको जानकारी दिए ।सत्तारुढ दल नेपाली काङ्ग्रेस र एमालेले चार बुँदे प्रतिबद्धता जनाएपछि शीर्ष दलबीच संसद खोल्ने सहमति भएको हो ।

बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ ।एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो ।आज बिहानमात्र प्रधानमन्धी निर्वाचनका विषयमा सदनबाट हुने प्रकृयामा सहयोग गर्न आग्रह गर्न गृहमन्त्री बिमलेन्द्र निधी र काँग्रेस नेता प्रदिप गिरी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए ।

करिब डेढ घण्टा भएको छलफलमा गृहमन्त्री र नेता गिरीले सहयोगको अपेक्षा सहित ओलीसँग आफ्ना कुरा राखेको अध्यक्ष ओलीका निजी सचिव अनिस दाहालले जानकारी दिएका थिए ।

source;ratopati