स्थानीय तहको दोश्रो चरणको चुनाब असार १४ गतेलाई स¥र्यो

  • १७ जेष्ठ २०७४, बुधबार
  • 2097 पटक पढिएको

काठमाण्डौ, १७ जेठ । सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन फेरि सारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले यसअघि असार ९ गते गर्ने भनिएको स्थानीय तह दोस्रो चरणको निर्वाचन आगामी असार १४ गते सार्ने निर्णय गरेको हो । मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै सरकारले निर्वाचनको मिति पर सारेको उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

यसअघि, जेठ ३१ का लागि घोषित दोस्रो चरणको निर्वाचनलाई मन्त्रिपरिषद बैठकले असार ९ मा सारेको थियो । मुस्लिम समुदायका अगुवाहरुले प्रधानमन्त्री दाहाललाई भेटेर रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव गर्न आग्रह गरेका थिए । सरकारले मुस्लिम समुदायको भावनाअनुसार निर्वाचनको मिति पर सार्नुपरेको जनाएको छ । यसैगरी, मन्त्रिपरिषद बैठकले श्रीलंकाका बाढीपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।