बागलुङमा सुदेशको कविता कन्सर्ट हुने

  • १५ जेष्ठ २०७४, सोमबार
  • 2301 पटक पढिएको

सन्दीप खत्री
म्याग्दी । म्याग्दी साहित्य सञ्चार म्याग्दीको आयोजनामा बागलुङ सदरमुकाममा यही जेठ १९ गते धौलागिरि अञ्चल स्तरिय दोस्रो कविता कन्सर्ट हुने भएको छ । छन्द कबितालाई प्रबद्र्धन गर्ने उदेश्यले बागलुङान युवा कवि सुदेश सत्यालको एकल कविता कन्सर्ट हुने भएको हो । म्याग्दी जिल्लाको साहित्यिक गतिविधिमा क्रियाशिल सञ्चारले समग्र धौलागिरिको साहित्य क्षेत्रको विकासका लागि बागलुङमा उक्त कार्यक्रमको आयोजना गरेको बागलुङमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । म्याग्दी जिल्लामै पहिलो पटक एकज गजल साँझ, धौलागिरी अञ्चलमै पहिलो पटक कविता कन्सर्ट, त्रितालमा गजल, विभिन्न अन्तर संवाद, एकल कविता बाचन जस्ता साहित्यिक कृयाकलाप सम्पन्न गरि सकेको सञ्चारले जेठ १९ मा युवा कवि सुदेश सत्यालको एकल कविता बाचन गर्न लागिरहेको छ ।


उक्त कार्यक्रम आर्थिक संकलनका भन्दा पनि साहित्य जागरणका लागि भएकोले कबिता कन्सर्टमा ५० रूपैयाँ को टिकट किनेर कबिता सुन्ने ब्यबस्था मिलाएकोे म्याग्दी साहित्य संचारका अध्यक्ष घायलश्रीले बताए । बागलुङ सदरमुकाममा कबिता कन्सर्ट गरी यसबाट उठेको रकम बाट बागलुङको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीषले साहित्यलाई विकास गर्न सबैको सहयोग र समर्थन जरुरी रहेको बताए ।

धौलागिरि अञ्चलको साहित्यमा जागरण ल्याउने उद्देश्यले सुदेशको कविता कन्सर्ट गर्न लागिएको हो । लोपुन्मुख अवस्थामा रहेको छन्द कवितालाई संरक्षण गर्ने र नयाँ स्रष्टाहरुलाई छन्द कविता आकर्षण गर्नका लागि उक्त कार्यक्रमले टेवा पु¥याउने अपेक्षा गरिएको छ । पछिल्लो समयमा युवा माझमा उचाइएका युवा कवि सुदेशले बागलुङमा धौलागिरि अञ्चलको साहित्यप्रेमीहरुलाई साहित्य रसपान गराउनेछन् ।

सत्यालका कविताका शब्दहरुमा उत्कृष्ट विम्बहरु पाईने गर्छन् । छन्दमा कविता बाचन गर्ने सत्याले पछिल्लो समयमा युवाहरुले रुचाएका कवि समेत हुन । वास्तविक नाम नारायण सत्याल भएपनि साहित्यिक क्षेत्रमा उनी सुदेश सत्यालको नामबाट परिचित छन् । उमेरले भर्खर २३ मा चल्दै गरेका सत्याल राष्ट्र व्यापी छन्द कविता प्रतियोगिता २०६८ मा प्रथम स्थान हासिल गर्न सफल भएका थिए । चितवन महोत्सव, नेपाल प्रज्ञा प्रतिष्ठान कविता महोसत्व लगायतका ३ दर्जन साहित्यिक संघ संस्थाबाट प्रतियोगितात्मक कार्यक्रममा पुरस्कृत भईसकेका छन् । सत्यालको “अन्तरिक्षको धर्ती” कविता सङ्ग्रह प्रकाशित छ ।

पत्रकार सम्मेलन कार्यक्रम सञ्चारका अध्यक्ष घायलश्रीको अध्यक्षता, उपाध्यक्ष सन्दीप खत्रीको स्वागत र सचिव सुसन परियारको सञ्चालनमा सम्पन्न भएको थियो ।