दोस्रो चरणको चुनाव सर्‍यो, असार ९ गते गर्ने सरकारको निर्णय

  • १५ जेष्ठ २०७४, सोमबार
  • 2201 पटक पढिएको

१५ जेठ, काठमाडौं । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो ।

आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो ।

लगतै प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गरेर नयाँ मिति प्रस्ताव गरेका हुन् । पहिलो चरणको निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरुको सहभागिता सुनिश्चित गर्न पनि दोस्रो चरणको स्थानीय तहको निर्वाचन असार ९ गते सार्ने निर्णय लिनु परेको सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नम्बर १, २, ५ र ७ प्रदेशका ४६१ स्थानीय तहमा हुनेछ । प्रदेश नम्बर ३, ४ र ६ का ३८१ स्थानीय तहमा बैशाख ३१ गते निर्वाचन सम्पन्न भइसकेको छ । News Source: www.onlinekhabar.com