राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक संकलन गर्न आफ्ना पदकहरु विक्रि गर्दै महावीर पुन

  • १४ जेष्ठ २०७४, आईतवार
  • 10867 पटक पढिएको

म्याग्दी, १४ जेठ । राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको अभियानमा जुटेका म्याग्दीका महावीर पुनले आफुले विभिन्न क्षेत्रबाट प्राप्त गरेका पदकहरु विक्रि गर्न लाग्नुभएको छ । दुर्गम गाउँबस्तीहरुमा वायरलेस इन्टरनेट विस्तार अभियानका अभियान्ता समेत रहनुभएका पुनले राष्ट्रिय आविष्कार केन्द्रको लागि रकम अभाब भएपछि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा प्राप्त गरेका पदकहरु विक्रि गर्न लागिएको बताउनुभयो । पुनले पाएको रामोन म्यागेसेसे पदक, दुई वटा राष्ट्रदीप पदक, डाक्टर हर्क गुरुङ पर्वतीय पुरस्कार, अमेरिकाबाट पाएको इन्टरनेट हल अफ फेम र अमेरिकाकै नेब्रस्का विश्वविद्यालयबाट पाएको अनर ग्राजुएट पदकलाई विक्रिका लागि सार्वजनिक रुपमा आह्वान गरिसक्नुभएको छ ।

राष्ट्रिय आविष्कार केन्द्र निर्माणको लागि थालिएको अभियानबाट आर्थिक संकलन भईरहेपनि आबश्यक पर्ने रकम अझै जुटिनसकेको कारण आफ्ना पदकहरुलाई विक्रि गरि थप आर्थिक स्रोत जुटाउन लागेको पुनको भनाई छ । शनिवारसम्म ठमेलको नेपाल मण्डलामा राखेका ती पदकहरु अमेरिकामा एक नेपाली युवाको सक्रियतामा त्यहाँ लगेर लिलामी गर्ने तयारी भइरहेको पुनले जानकारी दिनुभयो । नेपाली व्यक्ति तथा संघ संस्थाहरुलाई नै आफ्ना पदकहरु खरिद गरि संग्रहका लागि अनुरोध गरेपनि कसैले चासो नदेखाएको कारण अमेरिकामा लिलामीको लागि पठाउने तयारी गरिएको पुनको भनाई छ ।
सन २०१४ देखि नै राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको परिकल्पना अगाडी सारेका पुनले सरकारलाई ५० करोड बजेट आबश्यक पर्ने भनी आबश्यक बजेटको लागि आग्रह गरेपनि सरकारी तवरबाट कुनै सहयोग प्राप्त नभएपछि गतबर्षदेखि जनताबाटै सहयोग उठाउने गरि महादान अभियान सुरु गर्नुभएको थियो । ५० करोड लागत अनुमान गरिएको राष्ट्रिय आविष्कार केन्द्रका लागि हालसम्म करिब ४ करोड सहयोग संकलन भएको छ । पुनले केही समय अगाडी पोखरामा आफ्नो नाममा रहेको जग्गा समेत आविष्कार केन्द्रकै लागि उपयोग गर्ने घोषणा समेत गरिसक्नुभएको छ ।

अभियानबाट संकलन हुने रकम र बैंकबाट ऋण लिएर १० मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने र सोही आयोजनाबाट भएको आम्दानीले आविष्कार केन्द्र सञ्चालन गर्ने योजना रहेको पुनले बताउनुभयो । वायरलेस इन्टरनेट र सामुदायिक पर्यटनको क्षेत्रमा समेत सक्रिय रहनुभएका पुनले आविष्कार केन्द्र मार्फत कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा, बनजंगल लगायतका सबै क्षेत्रको अनुसंधान तथा विकास गर्ने अबधारणा अगाडी सार्नुभएको छ । आविष्कार केन्द्र स्थापना भईसकेपछि त्यसले नेपाललाई आर्थिक विकास मार्फत समृद्धितर्फ अगाडी बढ्न ठुलो सहयोग पुग्ने बताउनुहुन्छ ।

पुनले आफुले रहरले नभएर बाध्यताले आफुले विभिन्न क्षेत्रबाट प्राप्त पदकहरु विक्रि गरि उत्पादनशिल कार्यमा उपयोग गर्न लागेको बताउनुभयो । आफुले विक्रि गर्न लागेको पदकहरुको न्युनतम् मूल्य नतोकेको भन्दै पुनले जतिसक्दो धेरै रकम दिनेलाई हस्तान्तरण गरिने जानकारी दिनुभयो । पुनको पहलमा म्याग्दीमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग सञ्चालनमा रहेको छ भने म्याग्दी संगै मुलुकका विभिन्न ठाउँमा ताररहित इन्टरनेट समेत उहाँले नै प्रवद्र्धन गर्दै आउनुभएको छ । यता राष्ट्रले गर्नुपर्ने काम आफै गर्न थाल्नुभएका पुनले आविष्कार केन्द्रको लागि आफुले प्राप्त गरेका पदक नै विक्रि गर्नुपर्ने अबस्था आएको प्रति जनस्तरबाट विभिन्न दुखसो व्यक्त भएका छन् । कतिपय म्याग्देलिहरुले त पुनको पदकलाई नेपालमै राख्नको लागि आर्थिक संकलन अभियान नै चलाउनुपर्ने समेत बताएका छन् ।