म्याग्दीका नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता

  • १३ जेष्ठ २०७४, शनिबार
  • सन्तोष गौतम
  • 4616 पटक पढिएको

म्याग्दी १३ जेठ । म्याग्दीका स्थानीय तहमा शनिबार नगर र गाउँ कार्यपालीकाको निर्वाचनका लागि उमेद्वारी दर्ता भएको छ ।
निर्वाचित नगर र गाउँपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्यको मतदानबाट नगरपालिकामा तीन र गाउँ कार्यपालिकामा दलित तथा अल्पसंख्यक दुई जना र निर्वाचित महिला मध्यबाट ४ जना छनौट हुने व्यवस्था छ । बेनी नगर कार्यपालीकामा निर्वाचित हुने तिन जना दलित वा अल्पसंख्यक पदको लागी नेपाली काँग्रेसकी मनकुमारी विश्वकर्मा र बिमला गौचन, एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचनको उमेद्वारी परेको छ ।

यसैगरी नगर कार्यपालीकामा निर्वाचित मध्यबाट छनौट हुने ४ जना महिला सदस्य पदका लागि नेपाली काँग्रेसकी कमला नेपाली, खिमकुमारी पुर्जा, पार्वती पौडेल र भिमकुमारी बिक, एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर र दुर्गाकार्की बानियाले उमेद्वारी दर्ता गर्नुभएको छ । ५२ जना मतदाता रहेको बेनी नगरपालीकाको कार्यपालीका चुनावका लागि नेकपा एमालेका ३७, नेपाली काँग्रेसका १२ र राप्रपाका ३ जना जनप्रतिनिधीले मतदान गर्नेछन् ।

बेनी नगरपालीकामा एमाले र राप्रपाले यसअघिको तालमेललाई निरन्तरता दिएका छन् । धौलागिरी र मंगला गाउँपालीकामा नेकपा एमाले तथा रघुगंगामा नेपाली काँग्रेसको बहुमत छ । मालीका गाउँपालीकाको गाउँ कार्यपालीकाको गठनका लागि दलहरुले सहमती गरेर उमेद्वारी दर्ता गरेका छन् ।

दुई जना दलित अल्पसंख्यक र चार जना महिला कार्यपालीका सदस्यका लागि एमाले र काँगे्रसले ११, माओवादी केन्द्र र स्वतन्त्रबाट दुईदुई जनाको उमेद्वारी परेकाले निर्बीरोध भएका सहायक निर्वाचन अधिकृत छवीलाल सुवेदीले जानकारी दिनुभयो ।

दलित सदस्यमा नेपाली काँग्रेसका कुलमान पटेल, अल्पसंख्यमा माओवादी केन्द्रका दोरण शेरचन, महिला सदस्यमा स्वतन्त्रका चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपाई र माओवादी केन्द्रकी मनरुपा घर्ती निर्बीरोध हुनुभएको छ । उता अन्नपूर्ण गाउँपालीकामा काँग्रेस र माओवादीले तालमेल गरेका छन भने एमालेले एक्लै उमेद्वारी दर्ता गरेको छ ।
काँग्रेस र माओवादीले दलित अल्पसंख्यकबाट हुने एकएक र निर्वाचित महिला सदस्यहरुबाट दुईदुई जनाको उमेद्वारी दर्ता गरेका छन् । ४२ जना जनप्रतिनिधि निर्वाचित भएको अन्नपूर्ण गाउँपालीकामा नेपाली काँग्रेसका २०, एमालेका १७ र माओवादी केन्द्रका ५ जना मतदाता रहेका छन् । संबिधानले गाउँ र नगरपाली कार्यपालीकालाई स्थानीय सरकारको मन्त्रिपरिष सरहको अधिकार दिएको छ ।

यो निर्वाचनले नगर र गाउँका कार्यपालिकामा महिला, दलित र अल्पसंख्यकको कार्यकारी अधिकार सुनिश्चित गर्ने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले बताउनुभयो । आईतबार १४ गते उमेद्वारको अन्तिम नामावली प्रकाशन, चिन्ह प्रदान र १८ गते १० देखि १ बजेसम्म मतदानको कार्यक्रम छ । कार्यपालीका सदस्य र न्यायीक समितिलाई पूर्णता दिएपछि स्थानीय तहको निर्वाचन प्रक्रिया सकिने जनाइएको छ ।

सन्तोष गौतम