धौलागिरीमा जलविद्युतको विकासमा लागि उचित वातावरण तयार गर्ने साझा प्रतिवद्धता

  • १३ जेष्ठ २०७४, शनिबार
  • कमल खत्री
  • 2845 पटक पढिएको

म्याग्दी, १२ जेठ । धौलागिरीमा जलविद्युत क्षेत्रको विकासका निम्ति उचित वातावरण तयार गर्ने यहाँका सरोकारवालाहरुले साझा प्रतिबद्धता जनाएका छन् । नर्वेजीयन राजदुतावास र निती फाउण्डेशनको सहयोगमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (ईपान)को आयोजनामा शनिबार बेनीमा सम्पन्न जलविद्युत विकासमा सहमती र जलविद्युत समाचार लेखन सम्बन्धि दुई दिने कार्यशाला गोष्ठिमा सहभागी सरोकारवालाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । 

कार्यक्रममा म्याग्दी र पर्वत र बागलुङका जनप्रतिनिधि, राजनिति दल, र प्रशासनीक क्षेत्र र पत्रकारहरुले जलविद्युत विकासका लागि स्थानीय स्तरमा उचित बातावरण सृजना गर्ने सामुहिक प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा बोल्दै म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी शोभाकर पोख्रेल र पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी डिल्लिराम शर्माले जलविद्यूत आयोजनाहरुको प्रशासनिक कार्यका सेवालाई समयमै प्रदान गर्ने प्रतिबद्धता जनाउँदै यस क्षेत्रको विकासको लागि सबै सरोकारवाला जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै बेनी नगरपालीकाकी उपमेयर सञ्जु बरुवाल र रघुगंगा गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारीले म्याग्दी जिल्ला जलविद्यूतमा सम्भावनायुक्त भएकाले यहाँ भित्रिएका आयोजनाहरुलाई सफल रुपमा सम्पन्न गराउनका लागि आफुहरुले रचनात्मक सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीकी अमृतादेवी बानिया, पर्वतका चन्द्रबहादुर जिसी, नेकपा एमाले म्याग्दीका प्रतिनिधि तथा बेनपा –४ का वडा अध्यक्ष गोविन्द पौडेल, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेल, राप्रपा म्याग्दीका  अध्यक्ष बिरबहादुर थापा क्षेत्री र पर्वतका गंगाबहादुर दर्जीले यस क्षेत्रको जलविद्यूतको विकासका निम्ती राजनितीक दलहरु प्रतिवद्ध रहेको बताउँदै उत्साहजनक रुपमा लगानी बढाउन आग्रह गर्नुभयो ।
उहाँहरुले जलविद्युतमा लगानी भित्र्याउनका लागि तत्कालीन जिविसको संयोजनमा चार वर्षअघि म्याग्दी घोषणापत्र समेत जारी भईसकेको बताउँदै म्याग्दीमा जलविद्यूतको विकासमा कतैपनि अबरोध नहुने प्रष्ट पार्नुभएको थियो । त्यस्तै कार्यक्रममा  अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) घान्द्रुकका प्रमुख बिदुर कुँइकेल, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, बागलुङका अध्यक्ष दिल शिरीष र पर्वतका अध्यक्ष छवीलाल तिवारीले समेत लजविद्यूतको विकासले मुलुकको समग्र आर्थिक तथा सामाजिक क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै लगानीमैत्री वातावरणको लागि सञ्चार क्षेत्रबाट रचनात्मक सहयोग गर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा ईपानका पुर्व अध्यक्ष खड्गबहादुर बिष्ट, कोषाध्यक्ष आनन्द चौधरी,  विद्युत विकास बिभागका उपमहानिर्देशक पुरुषोत्तम आचार्य, पुर्व महानिर्देशक डिल्लीबहादुर सिङ, काठमाण्डौ विश्वविद्यालयका प्रध्यापक नवराज खतिवडा, पशुपती ढुंगेल लगायतले जलविद्युतको बारेमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा म्याग्दी, बागलुङ र पर्वतमा क्रियाशिल पत्रकारहरुलाई भिम गौतम र लक्ष्मण बियोगीले जलविद्युत सम्बन्धि समाचार लेखन तथा सम्प्रेशषण सम्बन्धि प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा युनाईटेड मोदीका प्रवन्धक उपेन्द्र गौतम, म्याग्दीका सहायक जिल्ला बन अधिकृत चन्द्रमणी सापकोटा, पर्वतका जिल्ला वन अधिकृत कृष्णप्रसाद ढकाल लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले जलविद्यूतको लागि कानुनी प्रकृया झण्झटीलो भएको कारण सरकारी निती नियमलाई समय अनुकुल परिवर्तन गरिनुपर्ने, लगानीको लागि बैँकहरुले तत्परता देखाउनुपर्ने, स्थानीय स्तरमा हुने अबरोधहरुलाई हटाउनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै सरकारले घोषणा गरेको एक दशकमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई सफल बनाउन लजविद्यूत विकासमा चौतर्फि रुपमा उचित वातावरण तयार गरिनुपर्नेमा जोड दिएका थिए ।

कमल खत्री

म्याग्दी अनलाईन डट् कमका सम्पादक हुन् l