गरिमा बैँकले चार विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने

  • १० जेष्ठ २०७४, बुधबार
  • 1741 पटक पढिएको

म्याग्दी, १० जेठ । गरिमा विकास बैंकले म्याग्दीका विभिन्न चार विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ । विद्यालय तहबाट विद्यार्थी र शिक्षक मार्फत अभिभावकहरुमा वित्तीय शिक्षा उपलब्ध गराउने उद्देश्यले बेनी नगरपालिका– ३ भकिम्लीको जयन्ती मावि, अन्नपूर्ण गाउँपालिकाको मुक्तिमार्ग मावि, मँगला गाउँपालिकाको मंगला शिक्षा क्याम्पस र धवलागिरि गाउँपालिकाको मुनामा रहेको धनपाण्डे माविमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

जेठ महिनाभर चारै विद्यालयमा एकदिवसीय वित्तिय शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको गरिमा विकास बंैक बेनी शाखाका प्रबन्धक कमलप्रसाद ढुंगानाले जानकारी दिए । उनका अनुसार, कार्यक्रममा सम्बन्धित विद्यालयका विद्यार्थीका अतिरिक्त, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी, नवनिर्वाचित जनप्रतिनिधीलाई समावेश गरिनेछ ।

कार्यक्रममा बैंकमा खाता खोल्ने तरिका, बचतका फाइदा, वित्तिय सेवा सुविधाका बारेमा बैंकका विभिन्न विभागमा कार्यरत उच्च अधिकृतहरुले प्रशिक्षण दिने बताईएको छ । म्याग्दी जिल्लामा बेनी सहित दरबाङ, भुरुङतातोपानी र बावियाचौरमा शाखा रहेको बैंकले सामाजिक उत्तरदायित्व बहन गर्न वित्तिय साक्षरता अभियान सञ्चालन गर्न लागेको जनाईएको छ ।