दाजु गाउँपालीका र भाई वडा अध्यक्षमा निर्वाचित

  • ९ जेष्ठ २०७४, मंगलवार
  • 3307 पटक पढिएको

म्याग्दी ९ बैशाख । म्याग्दीमा स्थानीय तहको निर्वाचनबाट एकै घरका दुई दाजु भाई गाउँपालीका र वडाको अध्यक्षमा निर्वाचित भएका छन् ।
मंगला गाउँपालीकाको अध्यक्षमा सतप्रसाद रोका र उहाँका भाई कबिन्द्र वडा न. ३ को अध्यक्षमा निर्वाचित हुनुभएको हो । मंगला ३ सातबिसे निवासी रोकाद्धय नेकपा एमालेबाट उमेद्वार बन्नुभएको थियो । पाँच वटा वडा रहेको मंगला गाउँपालीका अध्यक्षमा निर्वाचित रोकाले तिन हजार ६१५ मत प्राप्त गर्नुभएको छ ।

उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले दुई हजार ६८९ मत पाउनुभयो । वडा अध्यक्षमा निर्वाचित कबिन्द्रले ६०५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका यामबहादुर रोकाले ५२७ मत पाउनुभयो ।

गाउँपालीका र वडा अध्यक्षमा निर्वाचित रोका दाजु भाई मतदातालाई धन्यवाद दिन घरदैलोमा व्यस्त छन् । “दाजुभाईनै एकै पटक निर्वाचीत हुने संयोगबस अवसर मिल्यो” गाउँपालीका अध्यक्ष सतप्रसादले भन्नुभयो “दुई जनानै राजनितीमा सक्रिय भएकाले पार्टीले अवसर दियो । सफल पनी भयौ । जनताको सेवा गछौ ।”

रोका परिवारका पाँच दाजुभाई र दुई दिदीबहीनी मध्य ५७ वर्षिय सतप्रसाद साईला र ५३ वर्षिय कबिन्द्र कान्छा हुन् । उहाँहरुका जेठा दाजु भारतीय सेनामा कार्यरत रहँदा दिवंगत हुनुभएको थियो । माईला र साईला दाजुहरु गाउँमै खेती किसानी गर्छन् । रोकाका बुवा जंगबिरको ८९ वर्षको उमेरमा निधन् भएको थियो ।

रोकाकी १०३ वर्षिया आमा आसीमा छोराहरु गाउँपालीका र वडाको अध्यक्षमा निर्वाचित भएकोमा दंग पर्नुभएको छ । बैशाख ३१ गतेको स्थानीय तह निर्वाचनमा मतदानका लागि रोकालाई मतदान केन्द्रसम्म बोकेर पु¥याइएको थियो । आसीमा सम्भवत जिल्लाकै जेष्ठ नागरीक हुन् ।

गाउँपालीकाको अध्यक्षमा निर्वाचित सतप्रसादले वि.स २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन बाबियाचौर गाविसको अध्यक्षको उमेद्वार बन्नका लागि १६ वर्षे स्थायी शिक्षक पदबाट राजीनामा दिनुभएको थियो ।

“त्यतीबेला काँग्रेससंग तालमेल गर्दा गाविस अध्यक्षमा उमेद्वारी दिन पाईन्” रोकाले भन्नुभयो “त्यो बेलाको प्रयास अहिले गाउँपालीका अध्यक्षमा निर्वाचित भएपछि सफल भयो ।” उनकी श्रीमती यसोदा रोका पनी एमालेकै राजनितीमा सक्रिय छिन् । तिन जना छोरीहरु अमेरीकामा चिकित्सक छन् ।

वडा अध्यक्षमा निर्वाचित कबिन्द्र वि.स २०४३ को गाउँ पञ्चायतको चुनावमा निर्बीरोध रुपमा गाउँ पञ्चायतको उपाध्यक्ष बन्नुभएको थियो । त्यो पदावदी सकिएपछि केही वर्ष बिदेश गएका रोका गाउँ फर्कीएपछि पुन राजनितीमै क्रियाशिल हुनुभयो । मंगला बासीलाई शुसासन, विकास र सम्बृद्धी दिलाउने गाउँपालीका अध्यक्ष रोकाले प्रतिवद्धता जनाउनुभयो ।