बेनीमा बुद्ध

  • ८ जेष्ठ २०७४, सोमबार
  • अमृत भादगाउँले
  • 2809 पटक पढिएको

म्याग्दी,८ जेठ ।मँगलाघाट नजिकैको बौद्ध चैत्य पुग्दा मनमा शान्ति मिल्छ । बुद्ध सामु उभिएर फलफूल चढाउँदा तन र मन दुबै प्रसन्नता छाउँछ ।

इतिहास, प्रकृति र सँस्कृतिको त्रिबेणीधाम हो म्याग्दीको बेनी बजार । त्यहाँ मान्छेको मन अड्याउने धेरै चिजबिज छन् । त्यस्तै एउटा पवित्र सम्पदा हो–बौद्ध चैत्य । बजारबाट एक किलोमिटर पश्चिम कुरिलाखर्कमा चैत्यसँग बिहार पनि छ ।
म्याग्दी बौद्ध संघको अगुवाइमा बनाइएका सम्पदा । त्यसका लागि आबश्यक एक रोपनी सात आना जग्गा स्थानीय पुण्यबहादुर र लक्ष्मी शाक्यले दान गरेका छन् । त्यही जग्गामा अर्का समाजसेवी यजनलाल शाक्यले प्यागोडा शैलीको चैत्य बनाइदिए जुन करिब ५ मिटर अग्लो छ ।


विहारमा दैनिक पूजापाठका साथै बुद्ध जयन्ती, भिक्षु वर्षावास तथा धर्मचक्र दिवस, ध्यान शिविर, दान लगायत सामाजिक गतिविधि गरिन्छ । बिहार, चैत्य निर्माण, बुद्ध वचनको प्रचार गर्दै आएको संघले अनाथ बालआश्रम र बृद्धाश्रम बनाउने योजना बुनेको छ ।
विसं २०५५ जेठ ३० गते भिक्षु अश्वघोष महास्थविरबाट चैत्य शिल्यान्यास गरिएको थियो भने ०५७ वैशाख २९ गते भिक्षु अनिरुद्र महास्थविरबाट उद्घाटन । यसको निर्माणमा बेनी बजारबासीका साथै मैत्री संघ पोखराले पनि गुन लगाएका छन् ।
मँगलाघाट नजिकैको बौद्ध चैत्य पुग्दा मनमा शान्ति मिल्छ । बुद्ध सामु उभिएर मनफूल चढाउँदा तन र मन दुबै प्रसन्न बन्छन्, ओम मणि पद्मे हुँ ।
बौद्ध सम्पदा निर्माणमा धेरैको योगदान छ । मंगलाघाटका सन्तप्रसाद बज्राचार्यले  मातापिताको स्मृतिमा चैत्य हाताको मुल गेट निर्माण गरिदिएका हुन् भने बेनी–दरबाङ मोटरबाटोबाट चैत्य हातामा जाने मुलबाटो हुलाकचोक निवासी भविलाल शार्कीले बनाइदिएका । त्यसैगरि चैत्य जाने मूलबाटो धादिङका रामकृष्ण घिमिरेले बनाइएदिए । अनि चैत्य हाताका मूर्ति तेर्सापट्टि पोखराकी सेतुली शाक्यले दान गरेकी ।]


बेनी बजारमा सार्बजनिक रुपमा बुद्ध जयन्ती मनाउन थालेको धेरै वर्ष भएको छैन । विसं २०५२ अघिसम्म घरघरमै बुद्ध जयन्ती मनाइन्थ्यो । पहिलोपटक ०५३ वैशाख २१ गते खुला रुपमा जयन्ती मनाइयो । त्यसपछि संस्थागत रुपमा अघि बढ्न त्यही वर्षको चैत ९ गते प्रकाशकुमार श्रेष्ठको संयोजकत्वमा म्याग्दी बौद्ध संघ गठन भयो ।
संस्था गठन भएसँगै बौद्धमार्गी संगठित हुने र भगवान गौतम बुद्धका उपदेश तथा शिक्षा प्रचार गर्ने काम भैरहेको छ । संघले दाताहरुको सहयोगमा चैत्य हातामा बनाएको बिहार अस्ती वैशाख ९ गते उद्घाटन गरियो । विहारभित्र बुद्धका मूर्ति राखिएको छ । त्यहाँ भन्ते बस्दै आएका छन् ।
म्याग्दी घुम्न जाने हुन् या मुक्तिनाथ यात्रामा निस्कने पर्यटकलाई बेनी बौद्ध चैत्यमा ध्यान गराउन सके ठूलै उपलब्धि हुनेछ । त्यसका लागि बौद्ध संघ, बेनी नगरपालिका, जिविस म्याग्दी र म्याग्दी उद्योग वाणिज्य संघले चैत्यका साथै समग्र बेनीका पर्यटकीय सम्पदाको प्रचारमा अभियानै चलाउनु पर्छ ।
कसरी पुग्ने ः  काठमाडौं–बेनी २८२ किमि । अथवा काठमाडौ–पोखरा हवाई यात्रा २५ मिनेट । पोखरा–बेनी ८२ किमि । बेनीबजारबाट १ किमि पश्चिममा चैत्य एवं विहार । काठमाडौंबाट छुट्ने बस पोखरा भएर ९ घन्टामा बेनी बजार पुग्छन् ।

अध्यात्म अभ्यास
यामबहादुर शाक्य, सचिव म्याग्दी बौद्ध संघ


बेनीबजारबाट १० मिनेटमै चैत्य पुगिन्छ । पर्यटकहरु त्यहाँ बसेर ध्यान तथा पूजापाठ गर्न सक्छन् । बुद्ध विहारमा २० जनासम्म बास बस्न सकिन्छ । त्यहाँ खाना सुविधा भने छैन । त्यसका लागि ५ मिनेट पर्तिर मंगलाघाटका रेस्टुँरामा बन्दोबस्त गर्नु पर्छ । भक्तजनहरुले पहिल्यै खबर गरेर आउँदा हामीलाई सजिलो हुन्छ ।

अमृत भादगाउँले