केसीले खाए शहिदको नाममा शपथ

  • ७ जेष्ठ २०७४, आईतवार
  • 4351 पटक पढिएको

म्याग्दी, ७ चैत । बेनी नगरपालिका–७ को खुल्ला सदस्यमा निर्वाचित शेरबहादुर केसीले शहिदको नाममा सपथ ग्रहण गर्नुभएको छ । नगरपालिकाको वडा सदस्यहरुमा निर्वाचित जनप्रतिनिधीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहणको लागि आईतवार आयोजित कार्यक्रममा खुला सदस्यमा निर्वाचित केसीले सहिदको नाममा सपथ ग्रहण गर्नुभएको हो ।

अन्य सदस्यहरुले इश्वर, देश र जनताको नाममा शपथ लिएपनि केसीले भने इश्वरको सट्टा सहिद, देश र जनताको नाममा शपथ लिनुभएको हो । नगरपालिकाको सदस्यको सपथ ग्रहणको ड्राफमा ईश्वरको नाममा सपथ खानुपर्ने भएपनि आफुले त्यसलाई परिवर्तन गरि सहिदलाई साँछी राखेर सपथ ग्रहण गरेको केसीले बताउनुभयो ।
केसी बेनी नगरपालिका–७ मा नेकपा (माओवादी केन्द्र)को तर्फबाट सदस्य पदमा उम्मेदवार बनेर बिजयी हुनुभएको थियो । उहाँले संघियता र संविधान सभा मार्फत नयाँ संविधान निर्माण जस्ता महान उपलब्धि १० बर्षे माओवादी जनयुद्धले ल्याएको भन्दै सो क्रममा ज्यान गुमाएका शहिदहरुको सम्मानमा आफुले इश्वरको ठाउँमा शहिदलाई स्मरण गरेको प्रतिकृया दिनुभयो ।

सो क्रममा नगरपालिकाको वडाहरुमा निर्वाचित सदस्यहरुलाई नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा नगरपालिकाका मेयर श्रेष्ठ, उपमेयर सञ्जु बरुवाल, वडा नम्बर १ का वडा अध्यक्ष टेकबहादुर रावल लगायतले मन्तव्य राख्नुभएको थियो ।

नगरपालिकाका सबै वडाका वडाअध्यक्षहरुको समेत उपस्थिति रहेको कार्यक्रममा नगरपालिकाका विष्ण पौडेलले सञ्चालन र कार्यकारी अधिकृत विश्वामित्र कुँइकेलले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन गर्नुभएको थियो ।