पोखराको मतगणना अघि बढाउन निर्वाचन आयोगको निर्देशन

  • ७ जेष्ठ २०७४, आईतवार
  • 2877 पटक पढिएको

निर्वाचन आयोगले पोखरा लेखनाथ महानगरको रोकिएको मतगणना अघि बढाउन सरोकारवालालाई निर्देशन दिएको छ । पोखरा लेखनाथ महानगरको १७ नम्बर वडाका केही मतपत्रमा स्वस्तीक छापको आकार ठूलो भएको भेटिएपछि शनिवार साँझदेखि मतगणना रोकिएको थियो । यस विषयमा आइतबार बसेको सर्वदलिय बैठकले निर्वाचन आयोगमा सोध्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम केन्द्रमा सोधिएकोमा केही समय अघिमात्र निर्वाचन आयोगले ठूलो स्वस्तिक छाप भए पनि सदर गर्दै मतगणना अघि बढाउन भनेको हो । ‘स्थानीय तहको निर्वाचनकालागि प्रयोगमा ल्याइएको मतपत्र र मतदान अधिकृतको हस्ताक्षर सही भएमा गणनालाई निरन्तरता दिनु भनेर केन्द्रले पत्र पठाएको छ,’ मतगणनास्थलबाट स्रोतले भन्यो ।  स्वस्तिक छापको बिषयमा विवाद उत्पन्न भएपछि सबै राजनीतिक दलहरुबीच शनिवार बैठक भए पनि विना निष्कर्ष टुंगिएको थियो ।

कांग्रेस कास्की सभापति कृष्ण केसीले एउटा मतदानस्थलमा दुईवटा स्वस्तिक छाप प्रयोग हुँदा त्यसको कानुनी मान्यताप्रति प्रश्नमात्रै उठाइएको बताए । ठूलो आकारको स्वस्तीक छाप लागेको मतपत्र मान्य नहुने भन्दै मतगणनास्थलमा रहेका कांग्रेस प्रतिनिधिले बिरोध जनाएपछि गणना रोकिएको हो । सूर्य चिन्हमा त्यस्तो छाप भेटिएको हो । ५ हजार ८ सय २८ मतसंख्या रहेको वडा १७ को १ हजार ४ सय मत गनिसकेपछि ठूलो स्वस्तिक छाप भएको मतपत्र भेटिएर विवाद उत्पन्न भएको थियो ।

केन्द्रको आदेश अनुसार मतगणना सुरु कतिबेला हुन्छ भन्ने विषयमा बुझ्न खोज्दा मूख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्ण र क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीसंग सम्पर्क गर्न  खोज्दा मोबाइल उठेन । ३३ वटा वडा रहेको महानगरका शुक्रबारसम्म १५ वडासम्मको मतगणना सकिएको छ । १६, १७ र १८ वडाको मतगणना भइरहेकोमा विवादपछि रोकिएको हो । Source : www.ekantipur.com