नमुना काम : बिममा विपन्न परिवारलाइ लकडाउन अवधिलाई पुग्ने खाद्यान्न वितरण

  • १८ चैत्र २०७६, मंगलवार
  • 1879 पटक पढिएको

म्याग्दी १८ चैत । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा लकडाउनको कारण समस्यामा परेका विपन्न परिवार र ज्याला मजदुरी गर्ने घरपरिवारलाई खाद्यान्न र सरसफाई सामाग्री वितरण गरिएको छ । वडा कार्यालयलेको अगुवाईमा स्थानीय युवा क्लब, अगुवा, जनप्रतिनिधि र समाजसेवीहरु मार्फत सहयोग जुटाएर वडाभित्रका विभिन्न टोलमा ४३ घरधुरीका १३४ जनालाई चैत २५ गतेसम्मलाई पुग्ने गरि चामल, दाल, तेल, नुन लगायतको खाद्यान्न र सरसफाईको लागि सावुन वितरण गरिएको हो ।


कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले घोषणा गरेको लकडाउन र जिल्ला सुरक्षा समितिले जारी गरेको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गर्ने र विपन्न घरपरिवारका मानिसहरुलाई विहान बेलुकाको खाना जुटाउन समेत समस्या पर्ने भएपछि तथ्यांक संकलन गरि राहत वितरण गरिएको वडा अध्यक्ष रेशम जुग्जाली (सुविन) ले जानकारी दिनुभयो । मंगलवार वडाका जनप्रतिनिधि र युवा क्लबका प्रतिनिधिहरुले टोल टोलमा पुगेर विपन्नलाई खाद्यान्न वितरण गरेका हुन् ।

‘‘ २५ गतेसम्मलाई पुग्ने गरि खाद्यान्न सामाग्री उपलब्ध गराएका छौँ, यस्तो समयमा कसैलाई पनि घरबाट बाहिर निस्कन नपरोस भन्ने उदेश्यले सहयोग संकलन गरि वितरण गरिएको हो’’–वडा अध्यक्ष जुग्जालीले भन्नुभयो । कुल एक लाख राहत रकम संकलन भएकोमा पहिलो चरणमा ७५ हजारा बराबरको राहत वितरण भएको वडा कार्यालयले जनाएको छ । बाँकी रकमलाई स्थानीय आबश्यकताको आधारमा सर्वपक्षित निर्णयबाट परिचालन गरिने जनाईएको छ । लकडाउनलाई पूर्ण कार्यान्वयन गर्ने र कोरोना भाइरसलाई भित्रन नदिन गाउँमा बाहिरबाट आउने कसैलाई पनि प्रवेश नदिने गरि स्थानीय युवा क्लबहरुले स्वयमसेवको रुपमा भुमिका खेलेका छन् ।

सोमबार वडा कार्यालयको संयोजकत्वमा स्थानीय ,युवा क्लब ,आमा समुह लगायतको सर्बपक्षिय बैठकले लकडाउनबाट प्रभावित वडा भित्रका अति गरिब विपन्न र दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्दै आएका मजदुर परिवारलाई राहत स्वरुप खाद्यान्न सहयोग गर्ने निर्णय गरेको थियो ।

वडा कार्यालयको संयोजकत्वमा चलाइएको आर्थिक सहयोग संकलन अभियानमा मोना हङकङका पुर्व अध्यक्ष दल शेरबुजाले १९ हजार, हिराजित स्मृती युवा क्लबले १५ हजार,हिमाली युवा क्लबले १५ हजार ,बिमबाङ्ग युवा क्लबले १५ हजार ,जन्मभुमि युवा क्लबले १० हजार र ढुनोट युवा क्लबले ५ हजार रुपैयाँ सहयोग गरेका छन भने यसैगरी वडा अध्यक्ष जुग्जालीले ५ हजार , किसानी माविका प्रअ जंग गर्बुजाले ४ हजार , वडा सदस्य बुद्धी ब जुग्जालीले ३ हजार, वडा सदस्य सरु श्रीपालीले २ हजार वडा सचिब नबिन पुनले ३ हजार, तल्लो गाउँ तोल सुधार अध्यक्ष याम जुग्जाली, ढुनोट तोल सुधार समितिका अध्यक्ष पूर्ण जुग्जाली र किसानी माविका शिक्षक सुर्मन गर्बुजाले रु १ हजारका दरले सहयोग गर्नुभएको थियो । वडा अध्यक्ष जुग्जालीले खाद्य सामाग्री ढुवानीका लागि निशुल्क ट्याक्टर तथा ट्याक्सी धनी चाम्बीर जुग्जालीले निशुल्क यातयात सेवा प्रदान गर्नुभएको वडा कार्यालयले जनाएको छ ।