म्याग्दीका हरेक स्थानीय तहमा ५० बेड र बेनीबजारमा दुईसय बेड क्षमताको क्वारेनटाइन बनाउने तयारी

बेनीको आइसोलेसनमा एक जना भर्ना

  • १७ चैत्र २०७६, सोमबार
  • 2231 पटक पढिएको

कमल खत्री
म्याग्दी, १७ चैत । विश्वब्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामको लागि म्याग्दीको ५ वटै गाउँपालिकामा ५०/५० बेड र बेनी नगरपालिकामा २ सय क्षमताको क्वारेनटाइन निर्माण गर्न निर्देशन दिईएको छ । कोरोना रोकथामको लागि जिल्ला विपद व्यवस्थापन समिति अन्र्तगत गठित कमाण्ड पोष्टको सोमबार बसेको बैठकले कोरोना भाइरस फैलन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस्तो तयारी गर्न जिल्लामा रहेका स्थानीय तहहरुलाई निर्देशन दिने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको बैठकले कुनै व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएमा व्यक्तिसंग पत्येक्ष सम्पर्क भएका सबै व्यक्तिको पहिचान गर्रि क्वारेनटाइन राख्नुपर्ने भएकाले त्यस्तो अबस्थामा ठुलो संख्यालाई व्यवस्थापन गर्नुपर्ने भएकाले पूर्वतयारीको लागि यस्तो निर्णय लिएको हो । बैठकले ५ वटै गाउँपालिकामा तत्काल ५० बेड क्षमता बनाउन र १ सय क्षमताको तयारी गर्न अनुरोध गरेको छ भने बेनी नगरपालिकामा २ सय बेड क्षमताको क्वारेनटाइन बनाउने निर्णय गरेको कमाण्ड पोष्टका सदस्य समेत रहनुभएका रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिनुभयो ।

त्यसैगरि बैठकले जिल्लामा स्वास्थ्यकर्मीको सुरक्षाको लागि थप व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) समेत मगाउने निर्णय गरेको छ । जिल्लामा खाद्यसंकट हुन नदिनको लागि खाद्य व्यवस्थापन योजना तयारी गर्न चैत १९ गते जिल्लामा रहेका स्थानीय तहका प्रमुख र उप्रमुख सहित म्याग्दी उद्योग बाणिज्य संघ समेतको बैठक बस्ने जनाइएको छ । म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको अध्यक्षतामा गठन गरिएको समितिले आबश्यक तयारी गर्ने जनाईएको छ ।

‘‘ पालिका स्तरको खाद्यान्नको अबस्थालाई रेकर्ड गर्छौ, सकभर सर्वसाधारण नागरिकलाई दैनिक उपभोग्य बस्तुको अभाब हुन नदिन थप कदम चालेका हौँ’’–प्रजिअ ढकालले भन्नुभयो । म्याग्दीमा अहिले कोरोना भाइरसको सम्भावित जोखिमयुक्त क्षेत्रबाट आएकाहरुलाई क्वारेनटाईनमा राख्न थालिएको छ । यस अन्र्तगत जिल्लामा करिब २ सय वेड क्षमताको क्वारेनटाइन निर्माण भैसकेको छ भने बेनी अस्पतालमा ६ बेड क्षमताको आइसोलेसन वार्ड निर्माण गरिएको छ ।

आइसोलेसन वार्डमा सोमबार एक जना भर्ना भएका छन् । बागलुङ घर भई जलजला गाउँपालिका माइत भएकी २७ बर्षिय एक महिलामा कोरोना भाइरसको लक्षण देखिएपछि अस्पतालको आइसोलेन वार्डमा भर्ना गरिएको जनाईएको छ । प्रवासबाट आएकी ति महिलाको मंगलवार स्वाब परीक्षणका लागि नमुना संकलन गरि पठाइने बेनी अस्पतालले जनाएको छ । सोमबार नै बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा निधेषाज्ञालाई थप प्रभाबकारी बनाउने निर्णय गरेको छ ।