निर्माण व्यवसायि संघका अध्यक्ष जिसीद्धारा चैत महिनाको घरभाडा बापतको एकलाख ३५ हजार छुटको घोषणा

  • १७ चैत्र २०७६, सोमबार
  • 1729 पटक पढिएको

म्याग्दी, १७ चैत । निर्माण व्यवसायि संघ म्याग्दीका अध्यक्ष नारायण जिसीले चैत महिनाको भाडा वापतको एकलाख ३५ हजार रुपैयाँ मिनाहा गर्ने घोषणा गर्नुभएको छ । सरकारले हिजो मात्रै घरधनीहरुलाई चैत महिनाको भाडा छुट दिन सवै घरभेटीहरुलाई अनुरोध गरेको थियो । सरकारको अनुरोधलाई स्वागत गर्दै जिसीले घर भाडा वापतको उक्त रकम मिनाहा गर्ने हुनुभएको हो ।


बेनी नगरपालिका ६ बगुवाखोला निवासी जिसी र उहाँको पत्नी विमला जिसीले काठमाण्डौं र बेनीमा रहेको घरमा भाडामा वस्नेहरुको भाडा मिनाहा गर्नुएको हो । काठमाण्डौं स्थित घरको चैत महिनाको भाडा एकलाख र बेनीमा रहेको घरको ३५ हजार गरी एकलाख ३५ हजार रपैयाँ भाडा मिनाहा गरेको जिसीले बताउनुभयो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुकनै ठप्प भएका बेला थोरै भएपनि भाडामा वस्नेहरुलाई राहत होस् भनेर आफूले एकमहिनाको भाडा छुट दिने घोषणा गरेको जिसीले बताउनुभयो ।

यस अघि जिसीले बेनी नगरपालिका ६ का गरिब तथा विपन्नहरुलाई वडाको सहकार्यमा ४० हजार बराबरको मास्क र हात धुने साबुन वितरण गर्नुभएको थियो । बेनी बजारमा व्यक्तिगत खर्चमा भाइरस नष्ट गर्ने क्लोरिन छर्किनुभएका जिसीले मंगलाको वावियाचौर र दरवाङ तथा रत्नेचौर लगायतका क्षेत्रमा समेत क्लोरिन छर्कने योजना बनाएको जानकारी दिनुभयो । सफल व्यवसायीका रुपमा पहिचान बनाउनुभएका जिसी सामाजिक कार्यमा समेत सक्रिय हुनुहुन्छ । उहाँले कोरोनाको कारण मुलुकलाई लकडाउन गर्दा दैनिक मजदुरी गर्ने, गरिब तथा विपन्नहरुलाई राहत वितरणका लागि जिल्ला स्तरमा निर्माण हुने कोषमा समेत रु १ लाख सहयोग गर्ने घोषणा गर्नुभएको छ ।