लकडाउनको अवज्ञा गर्दै मदिरा ओसार पसार गर्ने ब्यक्ती प्रहरी नियन्त्रणमा

  • १७ चैत्र २०७६, सोमबार
  • 1835 पटक पढिएको

म्याग्दी १७ चैत । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले जारी गरेको लकडाउनको अबज्ञा गर्दै मादक पदार्थ ओसार पसार गर्ने व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेनीबाट राखुतर्फ अत्याबश्यक सामाग्री ओसार पसार गर्ने नाममा मादक पदार्थ ढुवानी गरेको भेटिएपछि प्रहरीले मादक पदार्थ सहित चालक र सहचालकलाई नियन्त्रणमा लिएको हो ।


ग २ च ८८६९ नं.को जिपलाई ६ कार्टुन मादक पदार्थ सहित चालक जिल्ला म्याग्दी बे.न.पा.८ बस्ने बर्ष १९ को सुनिल कुमार शाह र सहचालक जिल्ला पर्वत जलजला गा.पा.वडा नं. ३ बस्ने बर्ष १८ को असल परियारलाई म्याग्दी प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल सरकार मन्त्री परिषद्को निर्णय बमोजिम मिति २०७६ चैत्र ११ गते देखी बिश्वभर महामारी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्न अत्यावश्यक वस्तु र सेवा मात्र संचालनको आदेश जारी गरिएको अवस्थामा,त्यस्ता वस्तु तथा सेवाहरूको कालोबजारी मदिरा जन्य पदार्थको ओसार पसार नियन्त्रण अत्यावश्यक बाहेक हिडडुलमा प्रतिवन्ध लगाएतका कार्यमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले सक्रियता बढाएको छ ।

नियन्त्रणमा रहेका दुवै जनालाई आवश्यक कारबाहीको लागी जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पठाईने प्रहरीले जनाएको छ । यस्ता क्रियाकलापहरू निषेधाज्ञा बिरूद्धका कार्यहरू भएकोले निजहरुलाई संक्रामक रोग ऐन २०२० को दफा २ को उपदफा १ बमोजिम नेपाल सरकारले गरेको आदेशको अपहेलना कसूरमा सोही ऐनको दफा ३ को उपदफा १ बमोजिम कानूनी कारबाही हुने ब्यबस्था छ ।