मंगला गाउँपालिकामा विदेशबाट आएका नागरिकको सूचना दिनेलाई नगद पुरस्कार

  • १३ चैत्र २०७६, बिहीबार
  • 1700 पटक पढिएको

बेनी, १३ चैत । विश्वब्यापी महामारी बनेको कोरोना भाइरसको संक्रमणबाट जोगिन म्याग्दीको मंगला गाउँपालिकाले विदेशबाट आएका नागरिकहरुलाई होम क्वारेनटाइनमा बस्न आग्रह गरेको छ । कोरोनाको संक्रमण फैलिएको देशबाट आएका व्यक्तिहरुमा त्यसको संक्रमण हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले कम्तीमा दुई साता सम्म सजगता अपनाउनुपर्ने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताउनुभयो ।

उहाँका अनुसार, गाउँपालिकाले विदेशबाट आएका व्यक्तिहरुको तथ्याङ्क संकलन समेत सुरु गरिसकेको छ । विदेशबाट आएको १५ दिन नपुगेका व्यक्तिहरुको बारेमा सुचना दिने व्यक्तिलाई नगद रु १ हजार पुरस्कारको समेत व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । कोरोनाको संक्रमण भएको दुई सातासम्म पनि लक्षण देखिन समय लाग्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रबाट आएका नागरिकलाई सुरक्षित र सचेत हुनको लागि आह्वान गरिएको गाउँपालिकाले जनाएको छ ।
बैदेशिक रोजगारबाट फर्किएकाहरुमा कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरि मंगला गाउँपालिकाका जनप्रतिनिधिहरुले घरदैलो मार्फत तथ्याङ्क संकलन गर्ने र उनीहरुलाई सचेत गराउने अभियान सञ्चालन गरेको छ । गाउँपालिका अध्यक्ष रोका सहित वडाका जनप्रतिनिधिहरुले विदेशबाट आएका व्यक्तिहरुको पहिचान गर्ने र उनीहरुलाई घरपरिवारबाट समेत अलग रहेर होम क्वारेनटाइनमा बस्न अनुरोध गर्न थालिएको छ ।