बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबाली नष्ट

  • २ चैत्र २०७६, आईतवार
  • 2082 पटक पढिएको

म्याग्दी २ चैत । म्याग्दीमा परेको बेमौसमी हिमपातले हिमाली भेगको खाद्यबालीलाई नष्ट गरेको छ । शनिवार राती परेको भारी हिमपातको कारण म्याग्दीको धवलागिरि र रघुगंगा गाउँपालिकाको हिमाली भु–भागका स्थानीयले गरेको हिउँदे बाली गहुँ, जौ र उवा खेतीलाई नष्ट गरेको हो ।

भर्खरै बाला लागेको समयमा भारी हिमपातले भुईमा ढलाएको र हिउँले पुरिएर हिलाम्मे भएपछि गहुँ, जौ र उवा खेतीलाई ठुलो क्षति पुगेको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिईन् ।

उनका अनुसार, यस गाउँपालिकाको गुर्जा, लुलाङ, मुदी, बगर, मल्कबाङ र मराङको माथिल्लो भु–भागमा गरिएको हिउँदेबाली पूर्ण रुपमा नष्ट भएको छ । ‘‘ यस बर्ष समयमै बर्षा र हिमपाती भएपछि हिउँदेबाली राम्रो भएको थियो, अहिले बाला लागीसकेपछि फेरी बेमौसमी हिमपातले पुरै नष्ट भएको छ, यसले कृषकहरुमा निरासा छाएको छ’’– गाउँपालिका अध्यक्ष पुनले भनिन् ।


हिमपातले रघुगंगा गाउँपालिकाको ठाडखानी, चौरखानी लगायतका क्षेत्रमा गरिएको जौ र गहुँ खेतीमा समेत क्षति पु¥याएको छ । बाला लागेको समयमा भारी हिमपात भएपछि हिउँदे अन्नबालीमा ठुलो क्षति भएको रघुगंगा गाउँपालिका–५ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए । पछिल्लो समय शहरी क्षेत्रमा जौ, गहुँ र उवाको माग बढेसंगै कृषकहरु यस खेतितर्फ आकर्षित भएका थिए ।

photo by Pride of Thadakhani