बेनी नगरपालिकाको मेयरमा काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी

  • ३ जेष्ठ २०७४, बुधबार
  • 4653 पटक पढिएको

म्याग्दी, ३ जेठ । बेनी नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठ बिजयी हुनुभएको छ । निकटतम प्रतिद्धन्धी नेकपा एमालेका प्रमोद श्रेष्ठलाई झिनो मत अन्तरले पराजीत गर्दै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको तालमेलबाट प्रमुखमा उम्मेदवार बनेका हरिकुमार बेनी नगरपालिका प्रमुखमा बिजयी हुनुभएको हो । उहाँले जम्मा ४५ मतले एमालेका उम्मेदवारलाई पराजीत गर्नुभएको हो ।


मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका एमालेका श्रेष्ठलाई अन्तीम १० नम्बर वडा पात्लेखेतको काँग्रेसको जनमतले रोकेको थियो । ९ नम्बर वडा घतानसम्म अग्रता कायम गरेका एमालेका श्रेष्ठलाई अन्नत काँग्रेसका मेयरका उम्मेदवार हरिकुमार श्रेष्ठले भेटाएर मात्रै छाडेनन्, उछिनेरै छाडे ।


बेनी नगरपालिकामा एमाले– र राप्रपाको तालमेलबाट नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठ उम्मेदवार बनेका थिए । १० वटा वडा रहेको बेनी नगरपालिकामा १८ हजार ३४५ मतदाता रहेकोमध्ये निर्वाचनमा १३ हजार १२८ जनाले मतदान गरेका थिए ।

निर्वाचनमा काँग्रेसका हरिकुमार श्रेष्ठले ५ हजार ६ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उहाँका निकटतम प्रतिद्धन्धी प्रमोद श्रेष्ठले ५ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको छ ।


त्यसैगरि नगरपालिकाको उपमेयरमा भने ३४ मत अन्तरले राप्रपाकी सञ्जु वरुवाल बिजयी हुनुभएको छ । उहाँले ३ हजार ९ सय ९५ मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्धी माओवादी केन्द्रकी ज्योती लामिछानले  ३ हजार ९ सय ६१ मत ल्याउनुभएको छ । बिजयी बरुवाल एमाले– राप्रपा तालमेलबाट उपमेयरको उम्मेदवार बन्नुभएको थियो ।


बेनपाको १० वटा वडा मध्य ८ वटाको अध्यक्षमा एमाले, एउटामा काँग्रेस र एउटामा स्वतन्त्र उमेद्वार निर्वाचित भएका छन् । जस अन्र्तगत एमालेबाट बेनपा–१ रत्नेचौरमा टेकबहादुर रावल, बेनपा–२ ज्यामरुककोटमा हिराबहादुर थापा,बेनपा–४ सिंगा तातोपानीमा गोविन्द प्रसाद पौडेल ,बेनपा–५ पुलाचौरमा लक्ष्मण बानियाँ, बेनपा–६ मा कृष्णसिंह बानीयाँ, बेनपा–७ मा राजेन्द्रकुमार श्रेष्ठ,–बेनपा –८मा रामकृष्ण बराईल, बेनपा–९ मा बेलबहादुर चोखाल बिजयी हुनुभएको छ । त्यस्तै बेनपा– ३ मा भने स्वतन्त्र प्यानलका पदम पुन वडा अध्यक्षमा बिजयी हुनुभएको छ भने वडा १० मा काँग्रेसका रिम रोका वडा अध्यक्षमा बिजयी हुनुभएको छ ।