नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीको एकता प्रकृया टुंगीयो

  • ४ फाल्गुन २०७६, आईतवार
  • 3949 पटक पढिएको

म्याग्दी ४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियू म्याग्दीले एकता प्रकृयालाई टुङ्गाएको छ । तत्कालिन दुई ठुला विद्यार्थी भातृ संगठन अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) बिच एकता भएपछि बनेको अनेरास्ववियूको जिल्ला कमिटीलाई शनिवार बसेको बैठकले पूर्णता दिएको हो ।


संगठनका केन्द्रिय सदस्य प्रकाश पौडेलको उपस्थितिमा जिल्ला संयोजक सुवास विश्वकर्मा र सह–संयोजक रेशम के.सी.ले तत्कालिन दुबै संगठनका क्रियाशिल सदस्यहरुलाई समावेश गरि ५१ सदस्यीय अनेरास्ववियूको जिल्ला कमिटीको टुंगो लगाएका हुन् । संगठनलाई पूर्णता दिने क्रममा संख्यालाई कम र सक्रियतालाई बढी प्राथमिकता दिएर आग्रह र पूर्वाग्रह बिना एकता प्रकृयालाई टुंगाएको सह–संयोजक केसीले जानकारी दिए ।

जिल्ला कमिटीमा भौगोलिक रुपमा जिल्लामा रहेका ६ वटै स्थानीय तहबाट समावेशी तवरले प्रतिनिधित्व गराईएको छ । त्यसैगरि जिल्ला कमिटि सदस्यहरुमा महिला, दलित, जनजाति लगायतको समावेशितालाई समेत आत्मसाथ गरिएको जिल्ला संयोजक विश्वकर्माले बताए । एकता प्रकृयाले टुंगो पाएसंगै अनेरास्ववियू म्याग्दीको शैक्षिक परिवर्तनको आन्दोलन शसक्त हिसाबले अगाडी बढाउने जनाएको छ ।