बेनी नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड हुदै

  • २४ माघ २०७६, शुक्रबार
  • 2314 पटक पढिएको

म्याग्दी २३ माघ । म्याग्दी सदरमुकाम बेनीमा बेनी नगरपालिका स्तरीय अन्तरमावि दोस्रो राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन २ देखि ४ गतेसम्म हुने भएको छ । बेनी नगरपालिकाको मुल आयोजनामा नगरपालिकाभित्र रहेका माध्यमिक तहसम्म पठनपाठन हुने विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाउने प्रतियोगिताको तयारीलाई तिब्र पारिएको छ ।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले प्रतियोगितामा प्रथमलाई रनिङ शिल्डको साथमा नगद रु ५० हजार, द्धितियलाई नगद रु ३५ हजार र तितृय हुनेलाई नगद रु २० हजारको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने जानकारी दिनुभयो । उहाँका अनुसार, विद्यागत रुपमा उत्कृष्ट र समग्रमा सर्वोकृष्ट हुने विद्यार्थीलाई समेत नगद र प्रमाणपत्रद्धारा पुरस्कृत गरिनेछ ।

नगरपालिकाभित्र कक्षा १२ सम्म पठनपाठन हुने २३ वटा विद्यालयका १८ बर्ष मुनीका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता सञ्चालनको लागि रु १२ लाख खर्च हुने अनुमान गरिएको नगरपालिकाले जनाएको छ । छात्र र छात्रातर्फ प्रतिस्पर्धा हुने प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स र मार्सलआर्टका विभिन्न इभेन्टमा खेलहरु खेलाईनेछ ।

प्रतियोगिताको लागि कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको संयोजकत्वमा मुल तयारी समिति र अन्य विभिन्न उपसमिति समेत गठन गरिएको छ । प्रतियोगिताको अवसरमा साग खेलमा म्याग्दीबाट सहभागी भएका चार जना खेलाडीहरुलाई समेत सम्मान गर्ने कार्यक्रम तय भएको मुल संयोजक विश्वकर्माले जानकारी दिनुभयो । कबड्डी र मार्सलआर्टका खेलहरु कबर्ड हल र एथलेटिक्स तर्फका खेलहरु खुला मञ्चमा खेलाईने र भलिबलको लागि स्थान छनौटको तयारीमा रहेको नगरपालिकाले जनाएको छ ।