सर्वमान्य दिलबहादुर घरब्जाको छैठौ स्मृति दिवस सम्पन्न

  • २० माघ २०७६, सोमबार
  • 1616 पटक पढिएको

काठमाण्डाै २० माघ । नेपाल छन्त्याल संघ र सर्वमान्य फाउण्डेशनले छन्त्याल जातिको उत्थान र पहिचानका अभियन्ता नेपाल छन्त्याल संघका संस्थापक अध्यक्ष तथा सर्वमान्य स्व. दिलबहादुर छन्त्यालको छैठौ स्मृति दिवस आज संयुक्तरुपमा मनाइएको छ । आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामको प्रमुख आतिथ्य र संघिय सांसद ज्ञानकुमारी छन्त्यालको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ ।

स्मृति सभालाई सम्बोधन गर्दै महासंघका अध्यक्ष तथा प्रमुख अतिथि जगत बरामले जनजाति महासंघको आन्दोलन र अभियानलाई साथ दिने जातिय संघहरुको नेतृत्वदायी भूमिका निर्वाह गरेका दिलबहादुर घरब्जाको योगदान स्मरणिय रहेको बताउनु भयो । अल्पसंख्यक जातिका नेताको उपमा दिदै उहाँको सक्रियता र लगनशिलताले छन्त्याल संघलाई उर्जा प्राप्त भएको कारण छन्त्याल संघको विकास र प्रगति आज देखिने गतिमा पुगेको उल्लेख गर्नुहुँदै अवका दिनमा संघको नेतृत्व गर्ने व्यक्तिले उक्त अभियानलाई निरन्तरता दिनु पर्ने र उहाले लेखेका कृतिहरुलाई संग्रह गरी प्रकाशन गर्न आग्रह गर्नु भयो ।

सोहि अवसरमा विशिष्ट अतिथि माननीय ज्ञानकुमारी छन्त्यालले पनि स्वर्गिय दिलबहादुर घरब्जाले पु¥याउनु भएको योगदानको स्मरण गर्नु भयो । त्यसै गरि संघका पूर्व अध्यक्ष इन्द्रजीत छन्त्यालले सर्वमान्य पढेर,जानेर र धन कमाएर होइन जातिय विकासको लागि स्वच्छ भावनाले पहिचानको मेसो लगाउने पहिलो व्यक्तिकोरुपमा छन्त्यालहरुले चिनेको बताउनु हुदै त्यसैको स्मरण स्वरुप छन्त्याल सर्वमान्य फाउण्डेशनको स्थापना भएको जानकारी दिनु भयो ।

सो अवसरमा फाउण्डेनका अध्यक्ष शिवप्रसाद छन्त्यालले स्वागत मन्तव्य दिनुका साथै फाउण्डेशनमा हालसम्म ६६ लाख मुद्धति बचतमा रहेको सोबाट ७ लाख बराबर व्याज नगद मौज्दात रहेको जानकारी गराउँदै सर्वमान्यको स्मरण चिरकालसम्म रहोस भन्ने उद्देश्यले छन्त्यालहरुको महान पर्व माघे सक्रान्ति (छार म्हेङ्ग) मा सर्वमान्य स्मृति प्रवेशद्धार निर्माण गरि माननीय मन्त्री पार्वत गुरुङ्गबाट उदघाटन गरिएको जानकारी दिनु हुँदै, कुल ९ लाख लागतमा उक्त प्रवेशद्धार निर्माण गरिएको बताउनु भयो भने सो अवसरमा फाण्डेशनद्धारा निर्मित उक्त द्धारलाई नेपाल छन्त्याल संघलाई हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा पारिवारिक प्रतिनिधिकोरुपमा स्व. दिलबहादुर घरब्जाका जेठी छोरीका ज्वाई जगेन्द्र छन्त्यालले स्व. घरब्जाको स्मरण गर्दै विभिन्न कार्यहरु गरेकोमा नेपाल छन्त्याल संघ र फाउण्डेशनलाई हार्दिक धन्यवाद दिनु भयो । कार्यक्रमाको प्रारम्भमा स्व. घरब्जाको तस्वीरमा माल्यार्पण गर्दै १ मिनेटको मौनधारण गरिएको थियो । कार्यक्रममा नेपाल छन्त्याल संघ, छन्त्याल सर्वमान्य फाउण्डेशन लगायत भातृ संस्थाका पदाधिकारी तथा सदस्य लगायत अन्य महानुभवाहरुको उपस्थिति रहेको थियो ।